पाँचतारे होटल सोल्टीद्वारा पशुपतिनाथको जग्गामाथि पाप, गुठीको १ रोपनीबढी जमिन कब्जा
वि.सं.२०८२ भदौ ९ सोमवार १७:०९
shares

काठमाडौ ।
सार्वजनिक जग्गा व्यक्ति वा संस्थाले हडपेका ठूलठूला काण्डहरु नसुनिएका होइनन् । ललितानिवास, बालमन्दिर, गिरिबन्धु टिस्टेट आदि इत्यादी ।
तर, सरकारको शेयर लगानी रहेको पाँचतारे होटल समेतले गुठीको नाममा दर्ता भएको जग्गा कब्जा गरेको खुलासा भएको छ ।
ताहचलस्थित तारे होटल सोल्टीले पशुपतिनाथ अन्तर्गतको गुठीका नाममा दर्ता भएको जग्गा कब्जा गरेको हो ।
नेशनल भिजन फोरकेलाई प्राप्त प्रमाण अनुसार, होटल सोल्टीले नक्कली मोही खडा गरेर पशुपतिनाथ भण्डार तहविल गुठीको करिब १ रोपनी १ आना ३ पैसा २ दाम जग्गा आफ्नो नाममा गरेको पाइएको छ ।
कागजात अनुसार मालपोत कार्यालय डिल्लीबजारमार्फत मोही दर्ता गरिएको देखिन्छ। स्मरण के रहोस् भने, पशुपतिनाथको दर्शन गर्न जाँदा झुक्किएर पनि एक छिटो जल मूखमा पर्दा शिव सख खाए बराबरको पाप लाग्छ भन्ने मान्यता छ । तर, पशुपतिनाथको नाम जोडिएका गुठीको रोपनीका रोपनी जग्गा सर्लक्क निल्नेलाई चाहिँ किन फलिफाप भएको होला ?
काठमाडौं उपत्यका मै पशुपतिनाथ गुठीको हजारौँ रोपनी जग्गा छ । तर, ती जग्गा कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क छैन । यसरी खाएका त होलान् नि, ठूलाठालु तथा नवधनाड्यहरुले ।
कतिपय ठाउँमा हामीलाई तत्कालीन मौसुफको सरकार अर्थात् राजाले विर्ता दिएका हुन् भन्ने नाममा समेत काठमाडौंमा देवदेवताका नाममा रहेका र मोही कायम एवं बेच्नै नहुने जग्गा व्यक्तिले खर्लप्प निलेका छन् ।
यस्ता कैयन उदाहरण खोज्ने हो भने अन्त कतै जानै पर्दैन, पशुपति अमालकोट कचहरी मै गएर बुझ्ने हो भने पनि धेरैका पाप खुल्छन् ।
सोल्टीले कब्जा गरेको जग्गा नदीजन्य क्षेत्र अन्तर्गत पर्ने जानकार स्रोतको दाबी छ । त्यसरी नदी छेउ पर्ने जग्गामा संरचना बनाउन पाइँदैन भने कसैले त्यस्तो जग्गा आफ्नो नाममा दर्ता गर्नु गैरकानूनी ठहर्छ ।
कानूनतः नदी छेउको मापदण्ड कार्यान्वयनमा छ, अहिले । केही समयअघि सर्वोच्च अदालतले गरिदिएको फैसलाले त झन नदी छेउको मापदण्ड झनै बढाएको छ ।
पैसाको पावर र पहुँचको दुरुपयोग गरेर सोल्टीले गुठीको नामको जग्गा कब्जा गरेको यस मामिलाका जानकारहरुको आरोप छ। यतिसम्म की यसमा पूर्व राजा समेतको मिलेमतोको शंका गरिएको छ । कारण, सोल्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत शेयर स्वामित्व छ ।
नेपालबाट अन्तर्राष्ट्रिय बजारमा व्यवस्थापन अनुमति लिने पहिलो होटलको रूपमा परिचित सोल्टीले यसरी पुशपतिनाथसँग नाम जोडिने गुठीको जग्गा कब्जा गर्नुले भूमाफियाको ताकत कति रहेछ ? भन्ने थाहा हुन्छ ।
मोही अर्थात् जोताहको हक लाग्ने सन्दर्भमा कसैले लामो समयदेखि जोतेको जमिन बन्ने बुझिन्छ । तर, सोल्टीले नक्कली मोही खडा गर्न लगाएर पशुपतिनाथ गुठीको जग्गा हडपेको छ ।
यसबारे होटल सोल्टी व्यपस्थापनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । गुठीको नाममा रहेको जग्गा कब्जा गरेको आरोपले होटल सोल्टी विवादमा पर्यो नै, उपत्यकासहित अन्य जिल्लामा होटल विस्तारका क्रममा पनि यस्तै अनियमितता गरेको पो छ कि भन्ने आशंका समेत जन्मिएको छ ।





