एकै परिवारका ४ सदस्यीयको बीभत्स हत्या, हत्यापछि प्रहरीलाई फोन-मलाई पक्रन आउनुहोस्

2.22K
shares

भोजपुर ।

भोजपुर रामप्रसाद राई गाउँपालिका-२ मा एक युवाले एकै परिवारका ४ सदस्यको बीभत्स हत्या गरेका छन् ।

भोजपुर नगरपालिका-२ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका-२ स्थित धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति करिब १ बजे प्रहरी कन्ट्रोलमा फोन गरेर ‘ममाथि चक्कु प्रहार भयाे, मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए ।

त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली घटनास्थल गएको थियो ।

घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन ।

राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।