१५ मिनेट भित्र नागरिकता उपलब्ध गराउन गृहमन्त्री सुधन गुरुङको निर्देशन

नागरिकता वितरणमा नयाँ मापदण्ड : १५ मिनेटभित्र सेवा दिन गृहमन्त्रीको निर्देशन

689
shares

गोरखा ।  गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया पूरा भएका सेवाग्राहीलाई १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन निर्देशन दिएका छन्।

गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अधिकारीहरू सँगको छलफलका क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउन जोड दिँदै अनावश्यक ढिला सुस्ती नगर्न आग्रह गरे। उनले कानुनी प्रक्रिया र आवश्यक कागजात पूरा भएका सेवाग्राहीले नागरिकता प्राप्त गर्न अनावश्यक रूपमा कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

उनले सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अनियमितता नियन्त्रण गर्दै समयमै सेवा उपलब्ध गराउन कर्मचारीहरू लाई निर्देशन दिएका छन्। साथै, सेवा प्रवाहको नियमित अनुगमन गरी नागरिकको गुनासो सम्बोधन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

गृहमन्त्रीको निर्देशन कार्यान्वयन भएपछि नागरिकता वितरण प्रक्रिया थप छिटो, सहज र सेवामुखी बन्ने अपेक्षा गरिएको छ।