सबै आपराधिक घटना प्रहरीको इन्स्टिच्युसनल मेमोरीमा छन् : आईजीपी कार्की

पुराना अपराध पनि प्रहरीको नजरबाट उम्किँदैनन् : आईजीपी कार्की

325
shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटना नेपाल प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्ति जुनसुकै बेला कानुनी कारबाहीको दायरामा आउन सक्ने बताएका छन्।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा महानिरीक्षक कार्कीले दशकौँ पुराना जघन्य अपराधमा संलग्न व्यक्तिसमेत पक्राउ गरी कानुनी कारबाही गर्दै आएको बताए। व्यक्तिगत स्मरण समयसँगै कमजोर भए पनि प्रहरी संगठनले अपराधका घटना नबिर्सने उनको भनाइ छ।

‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,’ कार्कीले भने।

उनले पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानबाट अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने काम भइरहेको बताए। यद्यपि, सबै पुराना मुद्दामा प्रहरीले अपेक्षित सफलता हासिल गर्न नसकेको पनि उनले स्वीकार गरे।

पुराना चर्चित तथा जघन्य प्रकृतिका घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरिएको जानकारी दिँदै कार्कीले केही घटनामा अनुसन्धानबाट राम्रो सफलता प्राप्त भएको बताए। उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना जघन्य अपराधको अनुसन्धान भइरहेको छ।

‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ उनले भने।

प्रविधिसँगै बदलिँदै सुरक्षा चुनौती

महानिरीक्षक कार्कीले बदलिँदो समाज, प्रविधि र कार्यशैलीसँगै सुरक्षा चुनौती पनि थपिँदै गएको बताए। परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक अपराध नियन्त्रण गर्न नसकिने भन्दै उनले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउने काम भइरहेको जानकारी दिए।

प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई प्रभावकारी बनाउन सूचक तयार गरिएको उनले बताए। कामका आधारमा मूल्यांकन हुने प्रणालीले प्रहरी कर्मचारीलाई आफ्नो कार्यसम्पादन सुधार्ने अवसर दिने उनको भनाइ छ।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै कार्कीले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति भर्ना तथा परिचालनमा जोड दिइएको बताए।

घरबाटै प्रहरी सेवा लिन सकिने

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको बताउँदै कार्कीले नागरिकले प्रहरी कार्यालयमै पुग्नुपर्ने अवस्था कम गर्न प्रणाली विकास गरिएको जानकारी दिए।

‘उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ,’ उनले भने।

अन्तर्राष्ट्रिय प्रकृतिका अपराध नियन्त्रणका लागि विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत विशिष्टीकृत अनुसन्धान इकाइसँग आवश्यक समन्वय भइरहेको पनि कार्कीले बताए।

नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी संगठनसँग सहकार्य गरिरहेको उनको भनाइ छ। प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी संगठन सक्षम हुँदै जाने उनले विश्वास व्यक्त गरे।

महानिरीक्षक कार्कीले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संगठन भएकाले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आम नागरिकको सहयोग आवश्यक रहेको बताए।

उनले आपराधिक प्रवृत्ति भएका व्यक्तिबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि नागरिकलाई आग्रह गरे।