महाकालीमा बाढी नियन्त्रणको तयारी: गृहमन्त्री लेखकले दिए आश्वासन
वि.सं.२०८२ असार २२ आइतवार १७:३५
shares

कञ्चनपुर ।
गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठुलो वर्षा हुनुअघि नै बाँध निर्माण गर्ने गरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन् । आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए ।
मन्त्री लेखकले भने, ‘महाकाली किनारका बस्ती वर्षौदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्ण कार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।’
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।
गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए । ‘सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ । अब स्थायी रूपमा समस्या समाधान हुने गरी काम हुन्छ’, उनले भने ।
गृहमन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए । यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो ।












