छानबिनबाट सफाइ पाएपछि पुनः गृहमन्त्री बने : सुधन गुरुङ
वि.सं.२०८३ जेठ २६ मंगलवार १२:३०
shares

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे शीतल निवास स्थित राष्ट्रपतिको कार्यालयमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यापारी दीपक भट्ट सँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो।
गुरुङले भने सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। विवाद चर्किएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा जम्मा २६ दिनमात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
उक्त प्रकरणको छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा शोभाकान्त पौडेल र अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। पछि कार्यसम्पादनका लागि थप पाँच दिनको समयसमेत उपलब्ध गराइएको थियो।
छानबिन समितिले ४५ पृष्ठ लामो प्रतिवेदनमार्फत गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। समितिले गुरुङका चल-अचल सम्पत्ति तथा सेयर लगानीको अध्ययनपछि सम्पत्ति वैध रहेको ठहर गरेको हो। साथै सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा प्रणालीगत समस्याका रूपमा व्याख्या गरेको छ।
समितिबाट सफाइ पाएसँगै गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।










