रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित मतदाता नामावली विवाद
वि.सं.२०८३ जेठ २७ बुधवार १२:२८
shares

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीमा देखिएको विवादका कारण स्थगित गरिएको छ। बुधबार बिहानदेखि मतदान प्रक्रिया सुरु भइसकेको अवस्थामा प्रतिनिधि र नेताहरूबीच मतदाता नामावलीलाई लिएर असहमति बढेपछि निर्वाचन कार्यक्रम नै रोक्नुपरेको हो।
निर्वाचन समितिले यसअघि अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै बुधबार बिहान मतदान सुरु गरेको थियो। तर मतदान चलिरहेका बेला नामावलीमा समावेश भएका तथा छुटेका प्रतिनिधिहरूको विषयमा प्रश्न उठेपछि अधिवेशनस्थलमा विवाद चर्किएको थियो। विवाद बढ्दै गएपछि निर्वाचन समितिले तत्कालका लागि निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
अधिवेशनमा सहभागी एक नेताका अनुसार मतदाता नामावलीको पारदर्शिता र वैधानिकतामाथि प्रतिनिधिहरूले प्रश्न उठाएपछि वातावरण तनावपूर्ण बनेको थियो। त्यसपछि निर्वाचन समितिले कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको थियो। समितिको निर्देशनलगत्तै सुरक्षामा खटिएको प्रहरीले अधिवेशन स्थल खाली गराएको थियो।
रास्वपाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि अधिवेशन आयोजना गरेको भए पनि मतदाता नामावली विवादका कारण प्रक्रिया बीचमै रोकिएको हो। अधिवेशन स्थगित भएसँगै नेतृत्व चयन प्रक्रिया समेत अनिश्चित बनेको छ।
निर्वाचन समितिले विवादका विषयमा थप छलफल र आवश्यक निर्णयपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गरिने जनाएको छ। यद्यपि अधिवेशन तथा निर्वाचन कार्यक्रम पुनः कहिले सञ्चालन हुने भन्नेबारे हालसम्म कुनै मिति तय गरिएको छैन। विवाद समाधानका लागि पार्टी नेतृत्व, निर्वाचन समिति तथा सम्बन्धित पक्षहरूबीच छलफल जारी रहेको बताइएको छ।










