बालुवाटारको मारिया हस्पिटलमा सिलबन्दी तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन

975
shares

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले काठमाडौँको बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) मा सिलबन्दी गरेको छ। काउन्सिलको स्थलगत अनुगमनमा अस्पताल आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको र विदेशी चिकित्सकमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइएको भेटिएपछि कारबाही अघि बढाइएको हो।

काउन्सिलले बिहीबार जारी गरेको सूचनाअनुसार घटनामा संलग्न तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ। साथै अस्पतालको बोर्डमा नाम राखेर आचारसंहिता उल्लङ्घन गरेको आरोपमा केही नेपाली चिकित्सकलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा सञ्चालकमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ। यस्तै, भिसा सर्त विपरीत काम गरेको पाइएका विदेशी नागरिकको गैर–पर्यटकीय भिसा र श्रम स्वीकृति खारेजीका लागि सम्बन्धित निकायमा विस्तृत प्रतिवेदन पठाइएको छ।

काउन्सिलले बिना अनुमति सञ्चालन भएका स्वास्थ्य संस्था तथा दर्ता नभई उपचारमा संलग्न चिकित्सकबारे सूचना वा प्रमाण भए तत्काल काउन्सिल वा स्थानीय प्रशासनमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। उजुरीकर्ताको गोपनीयता सुरक्षित राखिने पनि काउन्सिलले जनाएको छ।