सिंह दरबारमा न्यायको माग गर्दै घण्टी जुलुस निहारिका र बिनुलाई प्रहरीले घिसार्दै हटायो

1.09K
shares

काठमाडौं  । न्यायको माग गर्दै लामो समय देखि आन्दोलनरत ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसा पीडित बिनु यादवलाई शनिबार सिंहदरबार स्थित गृह मन्त्रालय प्रवेश गर्न प्रहरीले रोकेको छ।

गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या र मागबारे ज्ञापनपत्र बुझाउने उद्देश्यले गृह मन्त्रालय पुगेका उनीहरूलाई सुरक्षाकर्मीले मन्त्रालय प्रवेश गर्न नदिएपछि सिंहदरबारको दक्षिण गेटमै घण्टी बजाएर प्रतिकात्मक विरोध प्रदर्शन गरेका थिए।

विगत पाँच दिनदेखि सिंहदरबारको दक्षिण गेटमा निरन्तर धर्ना दिँदै आएका निहारिका र बिनुले शनिबार पनि सडकमै बसेर घण्टी बजाउँदै नाराबाजी गरेका थिए। त्यसक्रममा उनीहरू गेटबाट अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। प्रदर्शनकारीका अनुसार त्यसपछि केहीबेर तनाव उत्पन्न भएको र प्रहरीसँग धकेला धकेल भएको थियो।

गृहमन्त्रीलाई आफ्ना पीडा सुनाउन पाउनुपर्ने अडान राखिरहेका उनीहरूलाई सडकबाट हटाउने क्रममा प्रहरीले बल प्रयोग गर्दै लछारपछार गरेको आरोप प्रदर्शन कारीहरूले लगाएका छन्। घटना स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। केही समय तनावपूर्ण अवस्था रहे पनि पछि स्थिति सामान्य बनेको थियो।

प्रदर्शनका क्रममा निहारिका र बिनुले सरकार जनताका आवाजप्रति संवेदनशील बन्नुपर्ने, पीडितलाई न्याय दिलाउन प्रभावकारी पहल गर्नुपर्ने तथा सम्बन्धित निकायले आफ्ना मागप्रति गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका थिए।

उनीहरू पछिल्ला केही दिनयता दैनिकजसो सिंह दरबारको दक्षिण गेटमा धर्ना दिँदै आएका छन्। प्रत्येक दिन प्रहरीले त्यहाँबाट हटाउने गरेको उनीहरूको आरोप छ। न्यायको खोजीमा सिंह दरबार पुगेका पीडित माथि भएको भनिएको प्रहरी हस्तक्षेपले यस घटनालाई पुनः चर्चामा ल्याएको छ।