इरान माथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ–कहाँ भयो हमला

832
shares

तेहरान। अमेरिकाले इरानमाथि लगातार नवौँ रात पनि हवाई आक्रमण जारी राखेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार यस चरणको आक्रमण इरानका सैन्य पूर्वाधार, कमाण्ड सेन्टर, हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी केन्द्र, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, सामुद्रिक क्षमता र सञ्चार सञ्जाललाई लक्षित गरेर गरिएको हो।

सेन्टकमले एक्स मार्फत जारी गरेको विज्ञप्तिमा स्ट्रेट अफ होर्मुज हुँदै आवत जावत गर्ने व्यावसायिक जहाज तथा सर्व साधारण नाविक माथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउने उद्देश्यले कारबाही गरिएको जनाएको छ। यद्यपि अमेरिकी सेनाले इरानभित्र कुन–कुन स्थानमा आक्रमण गरियो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।

इरानी सञ्चार माध्यमका अनुसार नवौँ रातको आक्रमणमा ताब्रिज, सिरिक, जास्क, चाहबहार तथा दक्षिण–पश्चिमी इरानको खोरमोज क्षेत्र प्रभावित भएका छन्। केही स्थानमा सैन्य अड्डा, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल भण्डारण स्थल र तटीय सैन्य संरचनालाई निशाना बनाइएको दाबी गरिएको छ।

यसैबीच, मेहर समाचार एजेन्सीका अनुसार पश्चिमी इरानको केरमान शाह प्रान्त स्थित एस्लामाबाद–ए घर्ब क्षेत्रमा अमेरिकी एमक्यु–९ ड्रोन इरानी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरिएको छ।

अमेरिकी सैनिकको मृत्युपछि थप तीव्र कारबाही

अमेरिकाले हालै इरान समर्थित आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि जवाफी कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ। सेन्टकमका अनुसार उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको नपड्किएको विष्फोटक पदार्थलाई नियन्त्रित रूपमा विस्फोट गराउने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको थियो।

यसअघि जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल आक्रमण हुँदा दुई अमेरिकी सैनिक मारिएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती सैनिक हरूको सम्मानमा इरानमाथि पुनः शक्ति शाली आक्रमण गरिएको बताएका छन्।

न्यु जर्सीबाट वासिङ्टन फर्किने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले आज राति फेरि उनीहरूमाथि धेरै सशक्त प्रहार गरेका छौं। यो हाम्रा तीन महान् देश भक्तहरूको सम्मानमा गरिएको कारबाही हो।”

इरानको जवाफ र चेतावनी

इरानले पनि अमेरिकी सहयोगी मुलुकहरूमा रहेका सैन्य अड्डा र रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणलाई निरन्तरता दिएको जनाएको छ।

आई आरजीसीका अनुसार जोर्डनको अकाबा विमान स्थलमा रहेका अमेरिकी सी–१७ यातायात विमान र पी–८ निगरानी विमानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ। साथै अजरक स्थित मुवाफाक साल्टी एयर बेसका २० वटा ह्याङ्गर नष्ट गरिएको दाबी पनि गरिएको छ। यद्यपि यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

बहराइन स्थित अमेरिकी दूतावासले इरानबाट सम्भावित आक्रमणको सूचना प्राप्त भएको जनाउँदै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न तथा साइरन बजेमा तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

स्ट्रेट अफ होर्मुजमा बढ्दो तनाव

तस्निम समाचार एजेन्सीका अनुसार आइतबार राति स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा दुई तेल ट्याङ्कर विस्फोट पछि रोकिएका छन्। आई आरजीसीले अमेरिकाको दबाबमा ती जहाज उक्त रणनीतिक जलमार्ग हुँदै अघि बढिरहेको दाबी गर्दै अहिले यो मार्ग तेल, ग्यास वा रासायनिक मल ढुवानीका लागि समेत सुरक्षित नरहेको चेतावनी दिएको छ।

उता, युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको कुम्जार नजिक एउटा जहाजमा आगलागी भएको जनाएको छ। आगलागी इरानी आक्रमणका कारण भएको हो वा होइन भन्ने पुष्टि नभएको भन्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

युद्ध अन्त्यबारे इरानको धारणा

इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्यका लागि सैन्य मोर्चामा बलियो स्थिति हासिल गरेपछि मात्रै वार्ता सम्भव हुने बताएका छन्।

राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भने, “युद्धको अन्त्य पूर्ण सैन्य विजय वा वार्ताबाट मात्र सम्भव हुन्छ। वार्ताको सही समय त्यही हो, जब रणनीतिक रूपमा बलियो स्थिति हासिल गरिन्छ।”

क्षेत्रीय चिन्ता बढ्दो

अमेरिका र इरानबीच लगातार आक्रमण र प्रति आक्रमण जारी रहँदा मध्य पूर्वमा तनाव थप चर्किएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय तेल आपूर्ति, समुद्री व्यापार तथा क्षेत्रीय स्थिरता माथि गम्भीर असर पर्ने चिन्ता बढेको छ। यद्यपि दुवै पक्षबाट कूटनीतिक माध्यमबाट समाधान खोज्ने सम्भावनाबारे पनि चर्चा जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।