सुनले तोड्यो नयाँ रेकर्ड एकैदिन तोलामा ५ हजार रुपैयाँ उछाल
नेपाली बजारमा सुनचाँदीको भाउ आकासियो, उपभोक्तामाथि थप भार
वि.सं.२०८३ असार १ सोमवार १२:१४
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। हप्ताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ हजार रुपैयाँले बढ्दै २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेपछि बजारमा नयाँ रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार उल्लेखनीय रूपमा उकालो लागेको छ। एकैदिन भएको यो वृद्धिलाई पछिल्ला समयकै ठूलो दैनिक बढोत्तरी मध्ये एक मानिएको छ।
चाँदीको मूल्य पनि सुनसँगै बढेको छ। सोमबार चाँदी प्रतितोला १ सय २० रुपैयाँले महँगिएर ५ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता, डलरको मजबुती र सुरक्षित लगानीका रूपमा सुनप्रतिको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूको भनाइ छ।
लगातार उकालो लागिरहेको सुनचाँदीको मूल्यले सर्वसाधारण उपभोक्ता देखि सुन व्यवसायी सम्मलाई प्रभावित पार्न थालेको छ। विशेषगरी विवाह, ब्रतबन्ध र अन्य सामाजिक कार्यक्रमका लागि सुन खरिद गर्ने उपभोक्ताले मूल्य वृद्धिको प्रत्यक्ष मार खेप्नुपर्ने अवस्था सिर्जना भएको छ।








