घाँटीको क्यान्सरको यी ७ लक्षण, देखिन्छन सुरुवाती देखिने संकेत

2.22K
shares

मानिसमा स्वास्थ्य रहन धेरै साबधानी अपनाउनु पर्दछ ,आवाज कर्कश, धोद्रो वा सुख्खा हुनु, बोल्दा नाकबाट आवाज आउनु वा सामान्यभन्दा फरक स्वर महसुस हुनु यो रोगको महत्वपूर्ण लक्षण हो ।

जब शरीरको कोषिका असामान्य रुपमा फैलिन थाल्छ, तब क्यान्सर भएको बुझिन्छ । क्यान्सर शरीरको विभिन्न अंगमा हुने गर्छ, जसमध्ये एक घाँटीको क्यान्सर पनि हो । घाँटीको क्यान्सर आवाज, भोकल कर्ड तथा मुखको विभिन्न भागमा हुने गर्छ ।

चुरोट, खैनीलगायत कुनै पनि सुर्तीजन्य पदार्थ यस्तो क्यान्सरका प्रमुख कारकहरू हुन् । धुम्रपान र मदिरासँगै प्रयोग गर्नेमा यो क्यान्सरको जोखिम अझ बढी हुन्छ ।

धेरैजसो अवस्थामा सुरुवाती चरणमा घाँटीको क्यान्सरले स्पष्ट लक्षण देखाउँदैन, तर सामान्य रोगजस्तै लाग्ने केही संकेतहरू भने यसका प्रारम्भिक चेतावनी हुन सक्छन् । यसको लक्षणहरू ३–४ हप्ताभन्दा बढी समयसम्म कायम रहे वा सामान्य उपचारले निको नभए चिकित्सकसँग जाँच गराउनु अत्यावश्यक हुन्छ । सुरुवाती अवस्थामा पत्ता लागे उपचार निकै प्रभावकारी हुन्छ ।

लक्षणहरु

१. निल्न गाह्रो हुनु

यो घाँटीको क्यान्सरको सबैभन्दा सामान्य र प्रारम्भिक लक्षण मध्ये एक हो । खाना, पानी वा तातो÷चिसो पदार्थ निल्दा घाँटीमा दुखाइ, पोल्नु वा अड्किने महसुस हुन्छ । सुरुमा हल्का मात्र देखिने यो समस्या बिस्तारै बढ्दै जान्छ ।

धेरैले यसलाई सामान्य घाँटीको संक्रमण ठानेर बेवास्ता गर्छन्, तर यदि २–३ हप्तासम्म यस्तो रहिरह्यो भने शंका गर्नुपर्छ । यो लक्षण हुँदा ट्युमरले घाँटीको मार्ग साँघुरो बनाएको संकेत गर्छ ।

२. घाँटीमा निरन्तर दुखाइ भइरहनु

घाँटीमा लगातार दुख्ने वा असहज महसुस हुने समस्या पनि प्रमुख संकेत हो । सामान्य रुघाखोकी वा संक्रमणमा यो दुखाइ केही दिनमा निको हुन्छ, तर क्यान्सरमा यो दुखाइ हप्तौंसम्म रहिरहन्छ ।

एन्टिबायोटिक्स वा अन्य औषधि खाँदा पनि फरक नपर्न सक्छ । यो दुखाइ प्रायः एकातिर मात्र महसुस हुन्छ । यदि दुखाइसँगै कान दुख्ने समस्या पनि थपियो भने यो अझ बढी शंकास्पद हुन्छ ।

३. घाँटीबाट बेलाबेलामा रगत आउनु

खोक्दा वा थुकमा रगत मिसिएको देखिनु वा घाँटीबाट हल्का रगत बग्नु पनि प्रारम्भिक संकेत हुन सक्छ । यो घाउ वा ट्युमरबाट रक्तस्राव भएको कारणले हुन्छ । सुरुमा थोरै मात्रामा देखिने यो समस्या लामो समय रहिरह्यो र संक्रमणले ठिक नभए क्यान्सरको सम्भावना बढी हुन्छ । यो लक्षणलाई कहिल्यै सामान्य ठान्नु हुँदैन ।

४. घाँटीमा केही अड्किएको महसुस हुनु

घाँटीमा सधैं केही अड्किएको जस्तो महसुस भइरहन्छ । यो समस्या खाना निल्दा मात्र नभई सामान्य समयमा पनि रहिरहन्छ । नाक बन्द हुने वा सास फेर्न अप्ठ्यारो महसुस पनि हुनसक्छ । यो ट्युमरले घाँटीको भित्री भागमा अवरोध सिर्जना गरेको संकेत हो ।

धेरैले यसलाई ‘गलामा केही अड्कियो’ भनेर बेवास्ता गर्छन्, तर यदि ३ हप्ताभन्दा बढी यो लक्षण रह्यो भने जाँच अनिवार्य छ ।

५. आवाजमा परिवर्तन

आवाजमा परिवर्तन आएको महसुस हुन सक्छ । आवाज कर्कश, धोद्रो वा सुख्खा हुनु, बोल्दा नाकबाट आवाज आउनु वा सामान्यभन्दा फरक स्वर महसुस हुनु यो रोगको महत्वपूर्ण लक्षण हो ।

विशेषगरी स्वरयन्त्र प्रभावित भएमा यो समस्या छिट्टै देखिन्छ । यदि यो परिवर्तन ३ हप्ताभन्दा बढी रह्यो र कुनै संक्रमण वा चर्को बोलेको कारण नभए चिकित्सकसँग परामर्श लिनुपर्छ ।

६. घाँटी वरिपरि सुन्निएको देखिनु

घाँटीको छेउमा वा जोर्नीमा सुन्निने वा गाँठो महसुस हुनु पनि यसको लक्षण हो । यो लिम्फ नोड (लिम्फ ग्रन्थी) मा क्यान्सर फैलिएको संकेत हुनसक्छ । प्रायः दुखाइ नहुने तर बढ्दै जाने खालको हुन्छ । यदि सुन्निएको क्रमिक रूपमा बढ्दै गयो र कडा भयो भने तुरुन्त जाँच गर्नुपर्छ ।

७. घाँटीमा गाँठो वा डल्लो

घाँटीमा नदुख्ने तर कडा खालको डल्लो देखिनु, अचानक वा बिस्तारै बढ्दो अवस्थामा छ भने त्यो समान्य लक्षण नहुन सक्छ । यो क्यान्सरको फैलावटको प्रमुख संकेत हुनसक्छ । थाइराइड क्यान्सरको सबैभन्दा सुरुवाती लक्षण नै घाँटीको अगाडि वा छेउमा दुखाइरहित गाँठो पलाउनु हो । यो सानोबाट ठूलो हुँदै जान्छ र सामान्यतया छाम्दा महसुस हुन्छ ।

धेरैजसो थाइराइड नोड्युलहरू ९० प्रतिशतभन्दा बढी बेनाइन हुन्छन्, तर कडा, अचल र बढ्दो भएमा क्यान्सरको सम्भावना बढ्छ ।

एकातिर कान दुख्नु, तौल घट्नु, थकान महसुस हुनु पनि सहायक लक्षण हुन सक्छन् ।यी लक्षणहरू अन्य सामान्य रोग (जस्तै: संक्रमण, एलर्जी) का कारणले पनि हुन सक्छन्, तर यदि २–४ हप्तासम्म रहिरह्यो भने ढिलो नगरी नाक, कान, घाँटी रोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ ।