गौर हत्याकाण्डमा सर्वोच्चको परमादेशपछि मोर्चाले बोलायो विशेष बैठक
वि.सं.२०८२ भदौ ४ बुधवार १२:३४
shares

गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतले हालै दिएको परमादेशबारे छलफल गर्न मधेशवादी दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले विशेष बैठक बोलाएको छ। मोर्चाको बैठक जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
सर्वोच्चले लामो समयदेखि विचाराधीन रहेको मुद्दामा छानबिन र कानुनी प्रक्रियालाई अघि बढाउन आदेश दिएसँगै यसबारे राजनीतिक वृत्तमा फेरि चर्चा सुरु भएको छ।
मोर्चाले पार्टीका शीर्ष नेताहरू, कानुनी सल्लाहकार तथा सम्बन्धित सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा बैठक आयोजना गर्न लागेको जनाएको छ। बैठकमा सर्वोच्चको निर्णयले सिर्जना गर्ने सम्भावित राजनीतिक, कानुनी र सामाजिक प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ। सगै आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचनको तयारी बारे पनि छलफल हुनेछ।
गौरमा २०६३ साल चैत ७ गते भएको घटनामा २७ जना मानिसको ज्यान गएको थियो। त्यस हत्याकाण्डमा मोर्चा घटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि जोडिएका छन्। उनीविरूद्ध पनि अनुसन्धान गर्न उजुरी परेको थियो।
यस घटनामा संलग्नताको आरोप विभिन्न राजनीतिक दलका कार्यकर्तामाथि लगाइएपनि निष्कर्ष पुग्न सकेको छैन। पीडित परिवारहरू लगातार न्यायको माग गर्दै आएका छन् भने राजनीतिक दलहरूबीच दोषारोपण हुँदै आएको छ।
सर्वोच्चको परमादेशपछि अब यो मुद्दा नयाँ चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ। मोर्चाले आफूहरू कानुनी प्रक्रियाप्रति पूर्ण आस्थावान रहेको बताउँदै निष्पक्ष छानबिनका पक्षमा उभिनुपर्ने धारणा लिएको छ। बैठकले आगामी दिनमा पार्टीले लिन सक्ने रणनीति र भूमिकाबारे पनि स्पष्ट निर्णय गर्ने अपेक्षा गरिएको छ।












