कांग्रेस एकताका लागि गगन थापालाई सिटौलाको आग्रह साहसी बनेर पार्टी जोड्ने नेतृत्व
वि.सं.२०८३ साउन ६ बुधवार १७:१४
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टी भित्रको एकता लाई प्राथमिकता दिँदै महामन्त्री गगन थापालाई खुला र साहसी नेतृत्व प्रदर्शन गर्न आग्रह गरेका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित इतर पक्षको कार्यक्रममा बोल्दै सिटौलाले कुनै पनि कुटिलता वा संकोच नराखी कांग्रेसलाई एकताबद्ध गर्ने जिम्मेवारी लिन थापालाई आग्रह गरे।
उनले गगन थापालाई सम्बोधन गर्दै, पार्टीलाई जोड्ने नेतृत्व लिन आवश्यक साहस देखाउनुपर्ने बताए। आफूहरू पार्टी एकताको पक्षमा रहेको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा नपरी खुला मनका साथ अघि बढ्न उनले सुझाव दिए।
सिटौलाले आफूहरूको राजनीतिक गति विधिमा कुनै गोप्य योजना, षड्यन्त्र वा छलछाम नरहेको दाबी गरे। सबै निर्णय र धारणा खुला रूपमा सार्वजनिक गर्दै अघि बढिरहेको उनले बताए।
उनका अनुसार इतर पक्षले यही महिनाको अन्त्यसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलामार्फत आगामी राजनीतिक कार्य दिशा, संगठनात्मक रणनीति तथा पार्टी भित्रको भूमिकाबारे थप स्पष्ट धारणा सार्वजनिक गरिने उनले जानकारी दिए।








