चितवनमा पहिचान नखुलेका २२९ शवको डीएनए लिएर जमिनमुनि व्यवस्थापन गरिँदै

चार शवको मात्र पहिचान, २२९ शवको डीएनए लिएर अन्तिम व्यवस्थापन

260
shares

चितवन — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चितवनबाट सङ्कलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लाबाट कुल २३३ शव तथा शवका अवशेष सङ्कलन भएका छन्। तीमध्ये चार शवको मात्र पहिचान भएको छ भने २२९ शवको अझै पहिचान हुन सकेको छैन।

लामो समयदेखि व्यवस्थापन हुन नसक्दा शव तथा अवशेषहरू सड्दै–गल्दै गएको र दुर्गन्ध फैलिन थालेपछि स्वास्थ्य जोखिम बढेको प्रशासनले जनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले समेत यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका छन्।

स्वास्थ्य जोखिम र शव थप बिग्रन नदिन चितवन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको हो।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ अनुसार सबै शवको डीएनए नमुना सङ्कलन गरी संकेत नम्बरका आधारमा अभिलेख सुरक्षित राखिनेछ। भविष्यमा आफन्तले खोजी गर्दा शव पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले डीएनए नमुना सुरक्षित राख्न लागिएको प्रशासनले जनाएको छ।

डीएनए नमुना सङ्कलन तथा अभिलेखीकरणपछि शवहरूलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि सम्मानजनक र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय लिनुपरेको जनाउँदै पीडित परिवारप्रति क्षमायाचना गरिएको छ। साथै प्रशासनले शोकमा रहेका परिवार तथा सरोकारवाला सबै पक्षबाट सहयोग र समन्वयका लागि आग्रह गरेको छ।

785598638_1592532979267928_5247977756541000154_n