बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण गर्न सांसद कँडेलको सरकारसँग माग
बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण
वि.सं.२०८३ भदौ १८ बिहीवार १८:०५
shares

काठमाडौँ । हालै आएको भीषण बाढी र पहिरोका कारण धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा सडक तथा पुलमा ठूलो क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित भएको छ। मुख्य सडक तथा पुलहरूमा क्षति पुग्दा स्थानीयवासीको आवतजावतसँगै खोज, उद्धार र राहत सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
यही अवस्थाप्रति ध्यानाकर्षण गराउँदै नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद कँडेलले बाढी र पहिरोका कारण धादिङ सदरमुकामसहित नुवाकोट र रसुवाका विभिन्न क्षेत्र सडक सञ्जालबाट प्रभावित भएको बताए। विशेषगरी धादिङको कृष्णभीर र परेवाभीर क्षेत्रमा पहिरो तथा नदी कटानका कारण पृथ्वी राजमार्गको सडक संरचनामा ठूलो क्षति पुगेको उनको भनाइ छ।
त्रिशूली नदीमा आएको बाढीले सडकका विभिन्न भाग कटान गर्नुका साथै पुलहरू समेत बगाएपछि यातायात सञ्चालनमा समस्या भएको उनले बताए। सडक सम्पर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पुर्याउन तथा उद्धार कार्य सञ्चालन गर्नसमेत चुनौती थपिएको छ।
सांसद कँडेलले कृष्णभीर र परेवाभीर क्षेत्रमा अवरुद्ध पृथ्वी राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक परे वैकल्पिक सडक निर्माण गर्न माग गरे। उनका अनुसार अहिलेको अवस्थामा सडक तथा पुल पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने आवश्यकता छ।
बाढीबाट भएको क्षतिले पूर्वाधार क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमा समेत असर पार्न सक्ने सांसद कँडेलले बताए। उनले बाढी तथा पहिरोका कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशतसम्म ह्रास आउन सक्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौती थपिएको बताए।
उनले बुढीगण्डकी आयोजना समेत अपेक्षित गतिमा अघि बढ्न नसक्दा त्यससँग सम्बन्धित अन्य विकास निर्माणका काम प्रभावित भइरहेको बताए। आयोजना अघि बढाउन यसको डीपीआर तथा डिजाइन पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
सांसद कँडेलले विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउँदै तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन गर्न सरकारसँग आग्रह गरे। उनले सडक, पुल तथा अन्य पूर्वाधारको पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
बाढी र पहिरोका कारण अवरुद्ध यातायात सम्पर्कका कारण प्रभावित नागरिकको दैनिक जीवनसमेत प्रभावित भएकाले सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा समेत विशेष ध्यान दिनुपर्ने देखिएको छ।





