कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको छ : डा. शशांक कोइराला
वि.सं.२०८३ जेठ ३१ आइतवार १५:५६
shares

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गर्दै पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको बताए। वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरे, “के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?” उनले पार्टी सुधारका लागि नेतृत्वले रुढिवादी सोच त्यागेर पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
कोइराला निवास पुगेको प्रसंग स्मरण गर्दै भावुक बनेका उनले भने, “आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो। कांग्रेस आज टुक्रिएको छ, यसलाई टुक्र्याइएको छ। अदालतले बनाएको विभाजनको रेखा गलत थियो।”
डा. कोइरालाले पार्टीभित्रको आन्तरिक कलहकै कारण गाउँगाउँमा कांग्रेसका कार्यकर्ता भए पनि त्यसको प्रभाव निर्वाचनमा मतका रूपमा देखिन नसकेको बताए। उनले अब पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै “सबैलाई एक ढिक्का बनाएर अघि बढ्ने बेला आएको छ” भने।
उनले नेपाली कांग्रेसलाई पुनः एकताबद्ध गर्ने अभियानको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहने संकेत गरे। पार्टीलाई बलियो बनाउन अहिलेको प्रमुख आवश्यकता एकता रहेको उनको भनाइ थियो।








