होल्डिङ सेन्टरका ७० प्रतिशत परिवार वास्तविक सुकुम्बासी प्रमाणीकरण जारी
National Vision 4K
वि.सं.२०८३ साउन २२ शुक्रवार १७:५३
975 shares
काठमाडौं: भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका परिवारको प्रमाणीकरण तीव्र बनाएको छ। हाल सम्म जाँच गरिएका १६० परिवार मध्ये १०९ परिवार (करिब ७० प्रतिशत) को नाममा नेपाल भरि कुनै पनि जग्गा–जमिन नभेटिएको समितिले जनाएको छ।
समितिका प्रवक्ता अमिर प्रसाद न्यौपानेका अनुसार बाँकी ५१ परिवारका नाममा देखिएको जग्गा बसोबास वा खेतीयोग्य छ कि छैन भन्ने विषयमा थप स्थलगत अध्ययन भइरहेको छ। अहिले सम्म मालपोत अभिलेखका आधारमा मात्र विवरण संकलन गरिएको उनले बताए।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पठाएका ३८८ परिवारमध्ये हालसम्म १६० परिवारको प्रमाणी करण सम्पन्न भएको छ भने बाँकीको प्रक्रिया जारी छ। झूटा विवरण पेस गरी सुकुम्बासी बन्न खोज्ने वा जग्गा प्राप्त गर्ने व्यक्ति माथि कानुनी कारबाही तथा जरिवानाको व्यवस्था रहेको समितिले स्मरण गराएको छ।
सरकारले नदी किनारजस्ता जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने वास्तविक भूमिहीन दलित र सुकुम्बासीलाई मात्र वैकल्पिक व्यवस्थापन गर्ने नीति लिएको जनाएको छ।