प्रधानमन्त्रीलाई सन्देश सरकारमा कोही एक्लो छैन हामी सबै साथमा छौँ : मनिष झा

650
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेपछि सांसद झाले फेसबुक मार्फत आफ्नो धारणा राखेका हुन्।

यस अघि प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै उनले कहिले काहीँ एक्लै लड्नुपर्ने र यो पहिलो पटक नभएको बताएका थिए।

प्रधान मन्त्रीको उक्त अभिव्यक्तिको सन्दर्भमा झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको स्पष्ट पारे। उनले आफूहरू सबै सरकारको साथमा रहेको भन्दै आपसी सहकार्य र समर्थन आवश्यक रहेको बताए।

झाले हिजो संसद्मा भनेझैँ सरकारको नियत र आशयमा आफूलाई शंका नरहेको उल्लेख गर्दै सुधार गर्नैपर्ने केही पक्ष भने रहेको बताए। सरकारका कमजोरी तथा सुधारका क्षेत्रप्रति आफूहरू निरन्तर सजग रहने उनको भनाइ छ।

‘ऐतिहासिक अवसर खेर नजाओस्’ भन्ने उद्देश्यले सरकारलाई आवश्यक सुझाव दिने र सचेत गराउने काम निरन्तर गरिरहने झाले बताएका छन्।

जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै झाले आफू पनि सरकारको साथमा रहेको दोहोर्‍याए। उनले परिवर्तनको अपेक्षा पूरा गर्न सरकार र जन प्रतिनिधि बीच सहकार्य आवश्यक रहेको बताउँदै ‘यहाँ कोही पनि एक्लो छैन’ भन्ने सन्देश दिएका छन्।

Capture