६३ औं इन्जिनियर दिवसको प्रधानमन्त्रीले उद्घाटन गर्ने, विशेष कार्यक्रम के के हुँदैछन् ?

2.56K
shares

काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ६३ औं वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । एशोसिएसनको केन्द्रीय कमिटीले आगामी साउन २ र ३ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा वार्षिकोत्सव समारोहसहित विभिन्न कार्यक्रमसहित इन्जिनियर दिवस देशभर मनाउने घोषणा गरेको छ।

उक्त दिवसको पूर्वसन्ध्यामा एक प्रेस विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, सदस्यको पेशागत हकहित संरक्षण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित कार्यक्रमहरूको आयोजना गरिने एशोसिएसनका महासचिव ई. विनोप्रकाश पण्डितले जानकारी दिनुभयो ।

वि.सं. २०१९ साल साउन ३ गते स्थापना भएको एशोसिएसनले यस वर्ष ६४ औं वर्षमा प्रवेश गर्दैछ। विभिन्न तालिम, गोष्ठी, सेमिनार, सामाजिक अभियान र अन्तरक्रियात्मक कार्यक्रममार्फत इन्जिनियरहरूको क्षमता विकासमा एशोसिएसन निरन्तर क्रियाशील रहँदै आएको महासचिव पण्डितले बताउनुभयो।

वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिका रुपमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण मन्त्री एनेबहादुर शाही ठकुरलगायतको उपस्थिति रहनेछ।

त्यस्तै, देशभरका प्रदेश केन्द्र — धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर, विराटनगर तथा विर्तामोड, वीरगञ्ज, हेटौंडा, भरतपुर, दाङ र नेपालगञ्जमा समेत विविध कार्यक्रमहरूको आयोजना गरिने एशोसिएसनले बताएको छ।

यस क्रममा म्याराथन, रक्तदान, वृक्षारोपण, सरसफाई, फुटसल, क्रिक्सल र ब्याडमिन्टन जस्ता गतिविधिहरू सञ्चालन हुनेछन्। इन्जिनियर दिवसको मुख्य आकर्षणका रुपमा ‘इन्टर इन्जिनियरिङ डिजाइन प्रतिस्पर्धा’ हुने छ भने राष्ट्र र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने ११ जना इन्जिनियर, आर्किटेक्ट तथा संस्थालाई विशेष सम्मान प्रदान गरिनेछ।

नेपाल इन्जिनियर्स एशोसिएसनले सबै इन्जिनियरहरुलाई उत्साहपूर्वक सहभागी भई दिवसलाई सफल बनाउन अपिल समेत गरेको छ।

सामाजिक सञ्जाल र केही सार्वजनिक धारणा मार्फत इन्जिनियरिङ पेशाप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको वर्तमान अवस्थामा, इन्जिनियरहरूको काम, दायित्व र पेशागत मूल्य–मान्यताको विषयमा स्पष्ट सन्देश दिन ६३ औं इन्जिनियर दिवस विशेष छलफलमूलक कार्यक्रममार्फत् मनाइने एशोसिएसनले जानकारी दिएको छ।

वार्षिकोत्सव समारोहमा विभिन्न प्यानल डिस्कसन सेसनसहित बधाई तथा शुभकामना मन्तव्यसहित विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ।

एशोसिएसनले मुलुकको पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई अझ प्रभावकारी बनाउन राज्यबाट सकारात्मक सहयोग र स्पष्ट संरचना आवश्यक रहेको बताएको छ। इन्जिनियर दिवसलाई अवसर बनाएर इन्जिनियरिङ पेशाको गरिमा, सक्षमता र समाजप्रतिको उत्तरदायित्वबारे गहिरो बहस र समीक्षा हुने विश्वास गरिएको छ।

एशोसिएसनले मुलुकको पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदानलाई अझ प्रभावकारी बनाउन राज्यबाट सकारात्मक सहयोग र स्पष्ट संरचना आवश्यक रहेको बताएको छ। इन्जिनियर दिवसलाई अवसर बनाएर इन्जिनियरिङ पेशाको गरिमा, सक्षमता र समाजप्रतिको उत्तरदायित्वबारे गहिरो बहस र समीक्षा हुने विश्वास गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।