लर्न अर्न एण्ड रिटर्न नारासहित नेक्साको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८३ साउन ३१ आइतवार १२:१२
shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को दोस्रो वार्षिक साधारण सभा काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसका अवसरमा आयोजित सभामा ‘लर्न, अर्न एण्ड रिटर्न’ (सिक, कमाऊ र स्वदेश फर्क) भन्ने नारालाई प्राथमिकतामा राख्दै विदेश अध्ययनपछि नेपाली विद्यार्थी स्वदेश फर्कने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
नेक्साका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा शिक्षा उपसमितिका संयोजक गणेश पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। दक्षिण कोरियाबाट उच्च शिक्षा हासिल गरी नेपालमा विभिन्न क्षेत्रमा कार्यरत डा. जीवन खनाल, डा. निरञ्जन कोइराला र डा. विवेक तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले स्वागत मन्तव्य राख्दै छोटो समयमै नेक्साले सदस्यमैत्री संस्थाका रूपमा पहिचान बनाउन सफल भएको बताए। संस्थाको विकासमा सदस्यहरूको सहयोग, सुझाव र सहभागिता महत्वपूर्ण रहेको उनको भनाइ थियो।
विशेष अतिथि डा. जीवन खनालले विदेशमा अध्ययनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालमा उपयोग गर्न सके देशको समृद्धिमा योगदान पुग्ने बताए। उनले दक्षिण कोरियामा अध्ययन गर्दाका अनुभव सुनाउँदै श्रमलाई सम्मान गर्ने संस्कारको विकास आवश्यक रहेको धारणा राखे।
त्यस्तै, डा. निरञ्जन कोइरालाले विदेश अध्ययनका क्रममा देखिने सुरुआती चुनौतीबारे अनुभव सुनाउँदै विद्यार्थीलाई भाषा तथा सांस्कृतिक तयारी गराउन शैक्षिक परामर्शदाताको भूमिका महत्वपूर्ण हुने बताए। विदेशबाट फर्किएका दक्ष जनशक्तिलाई नेपालमै अवसर उपलब्ध गराउन नीतिगत सुधार आवश्यक रहेको उनले बताए।
डा. विवेक तामाङले विदेश अध्ययन गर्नु स्वाभाविक प्रक्रिया भए पनि अध्ययनपछि स्वदेश फर्किने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। शिक्षा, प्रविधि तथा व्यवस्थापनका क्षेत्रमा दक्षिण कोरियाबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो।
नेक्साका सल्लाहकार सिद्धि बरालले विदेश अध्ययन तथा रोजगारीका क्रममा नेपालीहरूले भोगेका चुनौतीहरूबारे अनुभव साझा गर्दै विद्यार्थी तथा श्रमिक अधिकारका क्षेत्रमा भएका सुधारलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरे।
प्रमुख अतिथि गणेश पौडेलले विदेश अध्ययनमा जाने विद्यार्थीले गुणस्तरीय शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीप नेपालमा प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। नेपालमै पढ्दै र कमाउँदै गर्ने अवसर विस्तार गर्न सके विदेश पलायनको प्रवृत्ति घटाउन सकिने उनको भनाइ थियो।
नेक्साका अध्यक्ष सन्तोष खनालले संस्थाको स्थापना, शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौती तथा विगत एक वर्षमा नेक्साले गरेका गतिविधिबारे जानकारी गराए। उनका अनुसार नेक्साले विदेशमा समस्यामा परेका विद्यार्थी तथा अभिभावकलाई सहयोग गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सार्वजनिक संरचनाको मर्मत तथा पुनर्स्थापनामा समेत योगदान दिँदै आएको छ।
अध्यक्ष खनालले शैक्षिक परामर्श क्षेत्रको नियमन आवश्यक भए पनि अत्यधिक नियन्त्रण स्वीकार्य नहुने बताए। सरकार र व्यवसायीबीच समन्वय तथा सहकार्यबाट क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।
साधारण सभाले महासचिव गणेश बेल्वासेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सन्दीप तिवारीको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा नेक्साका आजीवन तथा साधारण सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी संगीता कटवालले गरेकी थिइन्।
नेक्साले ‘लर्न, अर्न एण्ड रिटर्न’को अवधारणामार्फत विदेशबाट ज्ञान, सीप र अनुभव हासिल गरेका नेपालीलाई स्वदेशमै फर्किएर योगदान गर्ने वातावरण निर्माणका लागि बहस र पहललाई निरन्तरता दिने जनाएको छ।





