रास्वपा कर्णालीको प्रथम अधिवेशन सुरु प्रतिनिधि छनोटमै विवाद
रास्वपा कर्णालीको प्रथम अधिवेशन सुरु, प्रतिनिधि छनोटमै विवादपछि निर्वाचन प्रक्रिया प्रभावित
वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२०
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आइतबार वीरेन्द्रनगरमा सुरु भएको छ। पार्टीका महामन्त्री भूपदेव शाहले अधिवेशनको उद्घाटन गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रदेश अधिवेशनको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
तर अधिवेशनको औपचारिक उद्घाटनसँगै प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद चर्किएको छ। अधिवेशनका लागि ५३० जना प्रतिनिधि चयन गरिएको दाबी गरिए पनि करिब ३ सय जना नक्कली प्रतिनिधि खडा गरिएको आरोप लागेपछि अधिवेशनस्थलको माहोल तनावपूर्ण बनेको हो।
प्रदेश सभापति पदका आकांक्षी नन्दकिशोर (एनके) बस्नेत र कोषाध्यक्ष स्नेहा उपाध्यायले प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै त्यसको विरोध गरेका छन्। उनीहरूले वास्तविक प्रतिनिधिको नामावलीभन्दा बाहिरका व्यक्तिलाई प्रतिनिधिका रूपमा सहभागी गराउने प्रयास भएको दाबी गरेका छन्।
विवाद बढेपछि रास्वपाको निर्वाचन समितिले प्रतिनिधि छनोटसम्बन्धी विषयमा छानबिन सुरु गरेको छ। असन्तुष्ट पक्षका नेता तथा कार्यकर्ताले छानबिनको निष्कर्ष सार्वजनिक नभएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने अडान लिएका छन्। उनीहरूले निष्पक्ष छानबिन र पारदर्शी निर्वाचनको सुनिश्चितता हुनुपर्ने माग गरेका छन्।
अधिवेशनमार्फत नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले यसपटकको प्रतिस्पर्धा निकै रोचक बनेको छ। स्रोतका अनुसार वर्तमान प्रदेश सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर (एनके) बस्नेत सभापति पदका प्रमुख दाबेदारका रूपमा मैदानमा छन्। नेतृत्व चयनलाई लिएर विभिन्न समूहबीच तीव्र राजनीतिक सक्रियता समेत देखिएको छ।
रास्वपाले देशभर संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने अभियान चलाइरहेका बेला कर्णाली प्रदेश अधिवेशनमा देखिएको विवादलाई पार्टीभित्रको आन्तरिक व्यवस्थापन र संगठनात्मक चुनौतीका रूपमा हेरिएको छ। प्रतिनिधि छनोट प्रक्रियामाथि उठेका प्रश्नहरूको समाधान कसरी गरिन्छ भन्ने विषयले अधिवेशनको विश्वसनीयता र आगामी नेतृत्व चयन प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
निर्वाचन समितिको छानबिन प्रतिवेदनपछि मात्रै निर्वाचनको कार्यतालिका अगाडि बढ्ने वा नयाँ निर्णय गरिने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ। यसबीच अधिवेशनमा सहभागी नेता–कार्यकर्ताहरूले विवाद समाधान गरी पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वलाई दबाब दिइरहेका छन्। कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनसँगै रास्वपाको प्रदेशस्तरीय संगठनको आगामी दिशा र रणनीति तय हुने भएकाले अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।








