‘आवारापन २’को बक्स अफिसमा दबदबा इमरान हाश्मीले बनाए नयाँ रेकर्ड

दर्शकको साथ पाउँदै ‘आवारापन २’, हाश्मीको फिल्मले कमाइमा रच्यो इतिहास

390
shares

मुम्बई । लामो प्रतीक्षा पछि बलिउड अभिनेता इमरान हाश्मी अभिनित बहुप्रतीक्षित फिल्म ‘आवारापन २’ शुक्रबार देखि हलमा रिलिज भएको छ । सन् २००७ मा रिलिज भएको चर्चित फिल्म ‘आवारापन’को सिक्वेलले बक्स अफिसमा उत्साहजनक सुरुवात गर्दै हाश्मीको करिअरकै सबैभन्दा ठूलो ओपनिङको रेकर्ड बनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले पहिलो दिन भारतमा २३.४० करोड भारु नेट कलेक्सन गरेको छ । केही ट्रेड रिपोर्टका अनुसार पहिलो दिन फिल्मको विश्वव्यापी कमाइ करिब २७ करोड भारु पुगेको थियो । यससँगै ‘आवारापन २’ हाश्मीको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको हो ।

फिल्मले दोस्रो दिन झन् बलियो प्रदर्शन गरेको छ । दोस्रो दिन भारतमा ३४.०९ करोड भारु नेट कमाएसँगै दुई दिनमा फिल्मको घरेलु नेट कलेक्सन ५७.४९ करोड भारु पुगेको छ । विश्वव्यापी रूपमा भने फिल्मले दुई दिनमा करिब ७२.९० करोड भारु कमाएको बताइएको छ ।

फिल्मको सुरुवाती व्यापारले अघिल्लो ‘आवारापन’को लाइफ टाइम कलेक्सन समेत पछाडि पारेको छ । यस अघि हाश्मीका लागि ठूलो ओपनिङ दिने फिल्म मध्ये सन् २०१७ मा रिलिज भएको ‘बाद शाहो’ थियो, जसले पहिलो दिन १२.६० करोड भारु कमाएको थियो । ‘आवारापन २’को पहिलो दिनको कमाइ त्यसको तुलनामा निकै अगाडि देखिएको छ ।

फिल्ममा हाश्मीले चर्चित पात्र शिवम पण्डितको भूमिकालाई पुनः निरन्तरता दिएका छन् । उनीसँगै दिशा पटानी, पुरन गब्बी, अनिरुद्ध रावल, शबाना आजमी, सुविन्दर विक्की, विजयन्त कोहली र अतुल कुमारको अभिनय छ । नितिन कक्कड निर्देशित फिल्मलाई विशेष भट्ट र मुकेश भट्टले विशेष फिल्म्सको ब्यानरमा निर्माण गरेका हुन् ।

बक्स अफिसमा फिल्मले शानदार सुरुवात गरे पनि समीक्षकहरूको प्रतिक्रिया भने मिश्रित देखिएको छ । ‘स्क्रिन’को समीक्षाले हाश्मीको अभिनय तथा फिल्मका केही आकर्षक र स्टाइलिस दृश्यको प्रशंसा गर्दै फिल्मको तेस्रो अंकतिर कथा दोहोरिएको र फिक्का बन्दै गएको टिप्पणी गरेको छ । अन्य समीक्षाहरूले पनि हाश्मीको अभिनय, एक्सन र भावनात्मक पक्षलाई बलियो मानेका छन् भने दोस्रो भाग तथा क्लाइमेक्सलाई तुलनात्मक रूपमा कमजोर बताएका छन् ।

यद्यपि, ‘आवारापन’को पुरानो लोकप्रियता, शिवम पण्डितको भूमिकामा हाश्मीको पुनरागमन र सिक्वेल प्रतिको लामो प्रतीक्षाले फिल्मलाई दर्शकमाझ बलियो सुरुवात दिलाएको देखिन्छ । अब आगामी दिनमा फिल्मको कमाइले निरन्तरता पाउँदै १०० करोड भारुको आँकडा पार गर्छ कि गर्दैन, त्यसतर्फ फिल्म क्षेत्रको ध्यान केन्द्रित भएको छ ।