रास्वपाको पहिलो महाधिवेशन १८ दिनपछि निर्वाचन अघि व्यवस्थापनमै चुनौती

585
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नजिकिँदै जाँदा संगठनात्मक तयारीमा ढिलाइ देखिएको छ। महाधिवेशन हुन अब १८ दिनमात्र बाँकी रहँदा पनि अधिकांश जिल्लामा निर्वाचन समिति गठन हुन नसकेको पाइएको छ।

केन्द्रीय निर्वाचन आयोगले जेठ ७ गते सार्वजनिक गरेको कार्यतालिकाअनुसार जेठ १५ गतेभित्र ७७ जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने थियो। तर निर्धारित समय बितिसक्दा पनि जिल्ला तहका निर्वाचन संरचनाले पूर्णता पाउन सकेका छैनन्।

सोमबार बसेको पार्टी सचिवालय बैठकले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा मनोनयन गरेको थियो। त्यसपछि मंगलबार बसेको आयोगको बैठकले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि मात्रै निर्वाचन व्यवस्थापन र समन्वयको जिम्मेवारी तोकेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशबारे भने अझै निर्णय सार्वजनिक भएको छैन।

कार्यतालिकाअनुसार जेठ २३ र २४ गते जिल्ला अधिवेशन तथा जेठ २६ देखि असार १ गतेसम्म प्रदेश अधिवेशन गर्ने कार्यक्रम छ। तर जिल्ला तहमा निर्वाचन समिति गठन नै नभएको अवस्थामा निर्धारित मितिमा अधिवेशन सम्पन्न हुने विषयमा अन्योल देखिएको छ।

पार्टीको निर्वाचन प्रक्रियासँग जोडिएका एक पूर्वपदाधिकारीले तयारी अपुग रहेको भन्दै जिल्ला अधिवेशनको मिति हेरफेर हुन सक्ने संकेत गरेका छन्। उनका अनुसार निर्वाचन संयन्त्र तयार नहुँदा कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउन चुनौती देखिएको छ।

यता निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले भने सबै काम कार्यतालिकाअनुसार नै अघि बढिरहेको दाबी गरेका छन्। निर्वाचन प्रमुख हालै मात्र नियुक्त भएकाले बाँकी कामलाई तीव्रता दिइएको र तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उनको भनाइ छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा निर्वाचन संरचना निर्माणमा भइरहेको ढिलाइले पार्टीभित्र चासो र बहस बढाएको छ। जिल्ला र प्रदेश तहका अधिवेशन समयमै सम्पन्न हुन्छन् कि कार्यतालिकामा फेरबदल हुन्छ भन्ने विषय अबका केही दिनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।