१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध नयाँ कानुन लागू
वि.सं.२०८३ जेठ १८ सोमवार १२:४८
shares

क्वालालम्पुर । मलेसिया सरकारले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राख्दै १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ। सोमबारदेखि लागू भएको नयाँ कानुनी व्यवस्थाअनुसार अब १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ नियमले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्न बाध्य बनाएको छ। साथै, १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले नयाँ खाता खोल्न नपाउने र पहिलेदेखि सञ्चालनमा रहेका त्यस्ता खाताहरू पहिचान गरी बन्द गराउने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ।
सरकारले तोकेको व्यवस्था कार्यान्वयन नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ। सरकारका अनुसार बालबालिकालाई हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक तनाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउन यो कदम चालिएको हो।
पछिल्ला वर्षहरूमा डिजिटल माध्यममार्फत बालबालिका विभिन्न जोखिमको सिकार बन्न थालेपछि कडा नियमन आवश्यक भएको निष्कर्षमा सरकार पुगेको जनाएको छ। यद्यपि, बालबालिकाले नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही गरिने छैन। सरकारको मुख्य ध्यान सामाजिक सञ्जाल कम्पनीहरूलाई थप जिम्मेवार बनाउनेतर्फ केन्द्रित रहेको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई सुरक्षित, स्वस्थ र उमेरअनुकूल डिजिटल वातावरण निर्माणका लागि ल्याइएको स्पष्ट पारेको छ।
बालबालिकाको डिजिटल सुरक्षाका लागि यस्तो कडा नीति अवलम्बन गर्ने मुलुकहरूको सूचीमा मलेसिया पनि थपिएको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै प्रकृतिका नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियाले पनि समान कानुनी व्यवस्था ल्याउने तयारी गरिरहेका छन्।












