सरकारका चार महत्त्वपूर्ण निर्णय सार्वजनिक
मन्त्रिपरिषद्को निर्णयः प्रशासनदेखि विकाससम्म चार एजेन्डा स्वीकृत
वि.सं.२०८३ जेठ १९ मंगलवार १४:३५
shares

काठमाडौं । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बास्तोलालाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले समितिका सदस्यहरू पनि नियुक्त गरेको छ। समितिको सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, डा. रोना श्रेष्ठ तथा लमजुङका पद्मनीति सोती नियुक्त भएका छन्।
सरकारले भूमि सम्बन्धी समस्या समाधान, व्यवस्थापन तथा नीतिगत सुझावका लागि समितिलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ। नवगठित समितिले भूमि प्रशासन र भूमिसम्बन्धी विवाद समाधानका विषयमा आवश्यक अध्ययन तथा सिफारिस गर्ने अपेक्षा गरिएको छ।
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय
१. सरकारका अनुसार मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) अन्तर्गत ओजोन तहलाई क्षति पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि आवश्यक सम्झौता स्वीकृत गरेको छ।
२. त्यसैगरी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक अर्जुनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरिएको छ।
३. बैठकले २०८२ भदौ २३ र २४ गते भएका प्रदर्शनका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सुझाव दिन बनाइएको अध्ययन समितिको कार्यकाल थप ४५ दिन लम्ब्याएको छ।
४. यस्तै, भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ। समितिको सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, डा. रेहना श्रेष्ठ तथा लमजुङका पद्मिनी सोतीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले यी निर्णयहरू सम्बन्धित क्षेत्रको व्यवस्थापन, संस्थागत सुधार तथा नीतिगत कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गरेको जनाएको छ।












