विपक्षीको अवरोधबीच बजेटमाथि छलफल थाल्ने सरकारको तयारी
वि.सं.२०८३ जेठ १९ मंगलवार १२:०९
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने तयारी गरे पनि विपक्षी दलहरूले संसद् अवरोधलाई निरन्तरता दिने संकेत दिएका छन्।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।
सरकारले बजेटमाथिको छलफललाई अघि बढाउन चाहेको भए पनि सदनको वातावरण अझै सहज बन्न सकेको छैन। नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको भनिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग गर्दै आएका विपक्षीहरूले माग सम्बोधन नभएसम्म सदन चल्न नदिने अडान कायम राखेका छन्।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले विपक्षीहरूको मागप्रति हालसम्म सुनुवाइ नभएको भन्दै संसद् अवरोध जारी रहने बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट निर्णय नभएसम्म विपक्षी दलहरू आफ्नो अडानबाट पछि हट्ने अवस्थामा छैनन्।
यसरी सरकार बजेटमाथिको बहस सुरु गर्ने तयारीमा रहँदा विपक्षीको अवरोधले संसद्को नियमित कार्यसूची प्रभावित हुने सम्भावना देखिएको छ। आगामी बैठकले राजनीतिक गतिरोध अन्त्य गर्ने कि थप जटिल बनाउने भन्ने चासो बढेको छ।












