वर्ल्डलिंकको कस्टमर सपोर्टमा थपियो एआई

1.39K
shares

काठमाडौं ।

नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो ग्राहक सेवालाई थप परिष्कृत र प्रभावकारी बनाउन एआई प्रयोग गर्ने भएको छ । देशभर १० लाखभन्दा बढी ग्राहक रहेको कम्पनीले ग्राहक सेवालाई स्वचालित र व्यक्ति अनुकूल बनाउन एआई प्रविधिलाई आत्मसात् गर्ने भएको हो ।

यसका लागि वर्ल्डलिंकले नेपालकै एआई टेलिफोनी प्रणाली टिङ टिङ (Ting Ting) (टिङ टिङ)सँग साझेदारी गरेको छ । नेपालभर फैलिएका लाखौँ ग्राहकहरूसँग व्यक्तिगत रूपमा जोडिनु र उनीहरूलाई समयमै महत्त्वपूर्ण जानकारी पुर्‍याउनु वर्ल्डलिंक जस्ता ठुला कम्पनीहरूका लागि सधैँ एक चुनौतीको विषय बनिरहेको हुन्छ ।

विशेषगरी एकतर्फी सूचनाहरू (जस्तै: सेवा नवीकरण, मर्मत सम्भार, नयाँ अफर आदिबारे जानकारी तथा अपडेट) प्रदान गर्न ठुलो मात्रामा मानवीय स्रोत र समय खर्च हुन्छ । जसले ग्राहक सन्तुष्टिमा समेत प्रत्यक्ष असर पारिरहेको हुन्छ । यसै चुनौतीलाई मध्यनजर गर्दै वर्ल्डलिंकले एआई प्रविधि आत्मसाथ गर्ने भएको हो ।

अब टिङ टिङको अत्याधुनिक एआई टेलिफोनी प्रणालीको प्रयोग मार्फत वर्ल्डलिंकले यी सबै एकतर्फी सूचना प्रवाहलाई पूर्ण रूपमा स्वचालित र व्यवस्थित गर्ने बताइएको छ । यसले गर्दा प्रत्येक ग्राहकलाई व्यक्तिगत आवश्यकता अनुसारको सटीक जानकारी मानवीय हस्तक्षेप बिना समयमै पुर्‍याउन सम्भव हुनेछ ।

वर्ल्डलिंकले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत रूपमा नाम लिएर बिल भुक्तानीको रिमाइन्डर, सेवाको अवधिबारे जानकारी, प्राविधिक समस्याको अपडेट र विशेष अफरबारे जानकारी फोनमार्फत जानकारी दिनेछ । यसले ग्राहक सेवामा लाग्ने समय र स्रोतमा उल्लेख्य कटौती गर्ने र दक्षतामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।