सांस्कृतिक संस्थानको पछिल्लो यथार्थ : महाप्रबन्धक किरणबाबुलाई अशोक प्यासी राईको खुलापत्र
वि.सं.२०८२ असार ३१ मंगलवार १९:०९
shares

काठमाडौं ।
नेपाली सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक अशोक प्यासी राईले सांस्कृतिक संस्थानहरूमा देखिएको पछिल्लो अव्यवस्था र चुनौतीहरूबारे चिन्ता व्यक्त गर्दै सांस्कृतिक संस्थानको महाप्रबन्धक किरणबाबु पुनलाई खुला पत्र लेखेका छन्। उक्त पत्रमा उनले संस्थागत विचलन, नीति निर्माणमा अपारदर्शिता, र सांस्कृतिक पुनर्जागरणमा देखिएको कमजोरीलाई प्रमुख मुद्दाका रूपमा उठाएका छन्।
खुला पत्रमा अशोक प्यासी राई लेख्छन्, “हाम्रो सांस्कृतिक सम्पदा केवल संग्रहालयको विषय होइन, यो हाम्रो पहिचान, हाम्रो आत्मा हो। तर, आज संस्थानहरू कागजी कार्यक्रम र आन्तरिक रस्साकस्सीमै सीमित भइरहेका छन्। किरणबाबु, तपाईं नेतृत्वमा हुनुहुन्छ तर, नेतृत्व कहाँ हरायो ?”
सांस्कृतिक संस्थानको महाप्रबन्धक किरणबाबु पुनलाई अशोक प्यासी राईको खुला पत्र ।
सांस्कृतिक संस्थानमा अहिले भइरहेको झुठ, भ्रम र अराजकतालाई अर्थ मन्त्रालयले केही समयअघि प्रकाशन गरेको आवधिक प्रगती विवरणले छर्लङ बनाएको छ।
नेपालका सबै सामाजिक संस्थानहरुको प्रशासनिक खर्च घटेको, निर्धारित सलिङअनुसार कम खर्च भएको तर, सांस्कृतिक संस्थानको मात्र प्रशाशनिक खर्च बढेको रिर्पोट प्रकाशन हुनु फजुल खर्च र अव्यवस्थाको स्पस्ट संकेत हो।
संस्थानका वर्तमान् महाप्रबन्धक किरणबाबु पुनले आफु आएपछि संस्थानको आयमा यति प्रतिशत, उति प्रतिशत वृद्धि भएको भन्ने तर्क र प्रचार भ्रामक छ। किरण जी, ल देखाउनुहोस् त तपाईंले ल्याएका कुन योजना, कार्यक्रम वा श्रोतबाट त्यो आर्थिक उपार्जन भयोरु तथ्यांक देखाउन सक्नुहुन्छरु कोरोना महामारी, मन्दीको समयको ब्यालेन्ससीटसँग अहिलेको अवस्थाको तुलना गरेर आर्थिक वृद्धी भएको भन्दै गरिएको प्रचार झुठको खेती सिवाय केही होइन।
किरण जी, तथ्य हेर्नुहोस्, सी.एम. ट्रेडिङ इन्टरप्राइजेजसँग त्यसबेला प्रतिवर्ग फिट १९ रुपैयाँ रहेको बहाल सम्झौतालाई भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग सोही भवन स्थानलाई प्रतिवर्ग फिट ७० रुपैयाँमा सम्झौता गरेपछि संस्थानको आन्तरीक आयमा वृद्धि सुरुभएको हो। त्यसपछि संस्थानको अन्डरग्राउण्ड सशुल्क पार्किङ हटाएर, क्याटरिङका लागि स्थान निर्माण गरी सैयौं स्कुल, कलेज, विभिन्न सरकारी तथा गैरसरकारी कार्यलयमा प्रवद्र्धन तथा प्रचार गरेपछि प्रेक्षालयको अक्युपेन्सी र आम्दानी बढ्न थालेको हो। यी सब काम कसको पालामा भएको हो?
यो त एउटा उदाहरणमात्र हो। यस्ता अनेक प्रयास र उपलब्धीका कारण कर्मचारीलाई महिनौसम्म तलव भत्ता दिन नसक्ने अवस्थाबाट संस्थानलाई बाहिर निकालिएको थियो। सम्माननीय सभामुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा भएको सस्थानको ५१औं वार्षिक उत्सवका अवसरमा सरकारी ऋण बाहेक संस्थान आत्मानिर्भर अवस्थामा आइपुगेको मैले त्यसैबेला तथ्यसहित घोषणा गरेको भिडियो एकपटक हेर्नुहोस्। त्यसबेला संस्थानको कार्यक्रमको स्तर, गरिमा कस्तो थियो ? सबै दस्तावेज, भिडियोहरु संस्थानमा सुरक्षित छ। त्यसबेलाको प्रशासनिक चुस्तता, सेवा प्रवाह, कर्मचारीको मनोबल कस्तो थियोरु थाहै होला। यी तमाम तथ्यलाई लुकाएर जसको पालामा प्रशासनिक खर्च आकासिएको छ, कर्मचारीको मनोवल र काम गर्ने वातावरण खतम भएको छ, महिला कर्मचारीलाई दैनिक दसौं पटक फोन गरेर धम्क्याएर, ह्यारेसमेन्ट गरी राजिनामा दिन बाध्य बनाइएको छ, उसैले सुशासनको कुरा गर्ने ? उज्ज्वल भविश्यको सपना बोकेर उच्च मनोबलका साथ काम गर्न आएका त्यस्ता कर्मचारी निरन्तरको धम्की र ह्यारेन्मेन्टका कारण रुँदै राजिनाम दिएर संस्थानबाट निस्कन बाध्य बनाएको कसले हो ? यी तथ्यलाई सीआईबीमार्फत् छानविन गराउँ, हिम्मत छ ?
किरण जी, तपाईंमा केको कुण्ठा हो मलाई थाहा छैन। तर, तपाईंले छरेका भ्रम, अरुप्रति भइरहेका गलत टिप्पणी र कार्यशैलीले तपाईं बसेको कुर्सीको गरिमालाई नै धावा बोलिरहेको छ। अघिल्ला कार्यकालहरुमा भएका उपलब्धीलाई मैले नै गरेको भन्नुहोस्। आत्मारतीमा रमाउनुहोस् ठिक छ, पाउनुहुन्छ। तर, पूर्वपदाधिकारीलाई गाली गर्ने, अपमान गर्ने, अनेक आक्षेप लगाउने काम किमार्थ स्विकार्य छैन।
मेरो कार्यकालमा भएका नीतिगत निर्णय, आर्थिक कारोबार, महालेखाको वार्षिक अडिट रिपोर्ट संस्थानमा सुरक्षित छ। ति सबै तपाईंको हातमा छ। हिम्मत भए अख्तियार जानुहोस्। अदालत जानुहोस्। न्यायिक रुपमा प्रमाणित गरेर ल्याउनुहोस्। गलत गरेको वा भएको रहेछ भने सजाय भोगौंला। भ्रममात्र छरेर, मुखले बोलेर होइन, न्यायिक रुपमा प्रमाणित गरेर देखाउनुहोस्। न्यायिक रुपमा प्रमाणित गर्न सक्नुभएन भने गलत आक्षेप र भ्रमको खेतीको मुल्य तपाईंले कसरी चुकाउनु पर्छ, हेक्का रहोस्।
किरण जी, वास्तवमा, यस्ता विषयमा तपाईंसँग दन्तबझान गर्नु मलाई न फुर्सद छ, न रुची नै। अझ भनौं शोभनीय पनि लागेको छैन। तर, तपाईंले छरेका भ्रम, गलत टिप्पणी र अराजकता अति भएपछि एकछिन समय निकाल्न बाध्य भएको मात्र हुँ। तपाईं आत्मारतीमा रमाउन पाउनुहुन्छ। रमाउनुहोस्। तर, अरुलाई किन दोष ? अरुलाई किन गाली र आक्षेप ? अरुसंग किन तुलना ? मैले यहाँ भन्न खोजेको केवल यतिमात्र हो।
संस्थान मृत्यु शैयामा थियो, यसअघिका सबै नेतृत्व निकम्मा थिए, सबै अयोग्य थिए भनेर गलत प्रसार गर्नुको आसय के हो ? हुन त, तपाईंको झुठ र भ्रमको खेतीलाई तपाईंकै दस्तावेजले छर्लङ बनाएको छ। विगत लामो समयदेखी सांस्कृतिक संस्थानले आफ्नो सम्पूर्ण गतिविधी समेटेर ‘हाम्रो संस्कृति’ प्रकाशन गर्दै आएको हो। पूर्वमहाप्रबन्धक राजेश थापादेखी मेरो पालामा समेत प्रकाशन भयो। ति प्रकाशनहरु संस्थानको लाइब्रेरी, विभिन्न सरकारी निकाय, सम्बन्धित व्यक्तिहरुसँग सुरक्षित छ। तर, तपाईंले हाम्रो संस्कृतिलाई नेपाली संस्कृति नाम दिएर २०५९ सालपछि पहिलो पटक मेरो पालामा प्रकाशन भयो। अरु सबै निकम्मा थिए। कामै गरेनन भन्न सक्ने आँटबाटै थाहा हुन्छ तपाईंको नियत।
तपाईंको पालामा प्रकाशन भएको त्यो पत्रिका पनि मेरै कार्यकालमा सुरुभएका राम्रा कार्यक्रमको विवरण र विश्लेषणले भरीएको छ। हेर्नु भएकै होला। पेज गनेर फेरी पनि हेर्नुहोला। तै पनि अरुले केही गरेन, म आएपछि मात्रै काम हुन थाल्यो। घाम जुन पनि म आएपछि मात्र झुल्किन थाल्यो भने जसरी प्रस्तुत हुन अलिकति पनि अप्ठ्यारो लाग्दैन ? अघिल्ला कार्यकालहरुमा भएका उपलब्धीलाई आफुले गरेको भन्दै प्रचार गर्ने र त्यही काम गर्ने पूर्वपदाधिकारीहरुलाई केही गरेन भन्दै गाली र अपमान गर्नु शोभनिय हुँदैन।
म फेरी भन्छु, आफ्नो तरीकाले काम गर्नुहोस्। सकारात्मक सोचका साथ अगाडी बढ्नोस्। अरुप्रति गलत टिप्पणी, अनेक आक्षेप अनि भ्रम सिर्जना गर्ने कामले कसैको उचाई बढ्दैन। तपाईंले गरेका काम र परिणामको वासना आइरहेको छ की गन्धरु मैदानमा आएपछि आफैं थाहा पाउनुहुन्छ। अहिले चार दिवारभित्र गुम्सेर बस्दा थाहा नभएको हुन सक्छ।
यस्ता तथ्यहरु धेरै छन्। आवश्यक परे बाँकी अर्को चिठीमा।
धन्यवाद












