डोजर चलाउने तयारीविरुद्ध जेनजी सडकमा मानव साङ्लो बनाउने घोषणा

949
shares

काठमाडौं । सुकुमबासी बस्तीमा डोजर चलाएर हटाउने तयारीको विरोधमा ‘जेनजी’ समूहले मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरेको छ।

थापाथलीस्थित बागमती किनारका सुकुमबासी बस्तीमा सरकारले चलाउन लागेको डोजर र सुरक्षा निकायको परिचालनविरुद्ध जेनजी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गर्ने गरी एलायन्सले शुक्रबार बिहान ११ बजेदेखि थापाथली क्षेत्रमा मानव साङ्लो बनाएर घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

बस्ती हटाउने सरकारी निर्णयको विरोध गर्दै उनीहरूले नागरिक अधिकार र बसोबासको सुरक्षाको माग राखेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले हातेमालो गर्दै मानव साङ्लो बनाइ शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने जनाइएको छ।

जेनजीका प्रतिनिधिहरूका अनुसार, सुकुमबासीलाई वैकल्पिक व्यवस्थाविना हटाउने प्रयास अन्यायपूर्ण भएको भन्दै त्यसको विरोध गर्न बाध्य भएको बताएका छन्। उनीहरूले सरकारसँग तत्काल वार्ता गरी दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

आन्दोलनकारीहरूले राजनीतिक आडमा सुकुमबासीका नाममा बसेका हुनेखाने र वास्तविक भूमिहीनबिचको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोगमार्फत निष्पक्ष छानबिन र प्रमाणीकरण गरेर मात्र अघि बढ्न उनीहरूको सुझाव छ। जथाभाबी डोजर चलाउनुको सट्टा दीर्घकालीन र न्यायोचित समाधान खोजिनुपर्ने माग एलायन्सको छ ।

उक्त प्रदर्शनमा विभिन्न अधिकारकर्मी तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। प्रहरीले भने सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अवस्था निगरानीमा राख्ने जनाएको छ।