प्रकाश सपूतको नयाँ उडान ‘परालको आगो’ ले बनायो सोलो हिरो
प्रकाश सपूतको दमदार कमब्याक, ‘परालको आगो’ ले दिलायो नयाँ उचाइ
वि.सं.२०८३ वैशाख १४ सोमवार ११:०८
shares

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा बलियो पहिचान बनाइ सकेका कलाकार प्रकाश सपूत पछिल्लो समय फिल्म क्षेत्रमा पनि क्रमशः स्थापित हुँदै गइरहेका छन्।
गायक, सर्जक र प्रस्तोताका रूपमा सफल यात्रा तय गरेका सपूतले अभिनयमा पनि आफ्नो क्षमता प्रमाणित गर्न थालेका छन्।
यसअघि विभिन्न फिल्ममा अभिनय गरिसकेका सपूतको पछिल्लो रिलिज फिल्म ‘परालको आगो’ मा देखिएको अभिनयले विशेष चर्चा कमाएको छ। फिल्ममा उनले निर्वाह गरेको पात्रलाई दर्शक र समीक्षक दुवैले रुचाएका छन्। सामाजिक यथार्थ झल्काउने कथामा उनले देखाएको भावनात्मक प्रस्तुति स्वाभाविक, प्रभावशाली र परिपक्व मानिएको छ।
यो फिल्मले सपूतलाई केवल गायक मात्र नभई सक्षम अभिनेताका रूपमा स्थापित गराएको विश्लेषण गरिएको छ। विशेषतः ‘परालको आगो’ ले उनलाई “सोलो हिरो” का रूपमा दर्शकमाझ चिनाएको चर्चा छ। फिल्ममा उनको अभिनयले उनी क्यारेक्टर बोकेर फिल्म अगाडि बढाउन सक्ने कलाकार भएको प्रमाणित गरेको छ।
यसअघि उनले अभिनय गरेका केही फिल्म तथा निर्माणमा संलग्न परियोजनाले अपेक्षित सफलता हात पार्न नसक्दा आलोचना पनि खेप्नुपरेको थियो। कतिपयले उनलाई संगीत क्षेत्रमा मात्रै सीमित रहन सुझाव दिएका थिए। तर ‘परालको आगो’ मा देखिएको उनको अभिनयपछि ती आलोचना कमजोर बन्दै गएको देखिन्छ।
फिल्ममा उनले देखाएको भावनात्मक गहिराइ, संवाद प्रस्तुति र पात्रप्रतिको समर्पणको समीक्षकहरूले खुलेर प्रशंसा गरेका छन्। यसले अघिल्ला कमजोरीहरू सुधारिएको संकेत समेत दिएको छ।
यसअघि रिलिज भएको ‘मिरमिरे’ ले व्यापारिक रूपमा राम्रो साथ पाएपछि सपूतप्रति निर्माता–निर्देशकहरूको ध्यान बढेको बताइन्छ। अब ‘परालको आगो’ मा प्राप्त प्रशंसासँगै उनीबाट अझ सशक्त र ठूला प्रोजेक्टको अपेक्षा गरिएको छ।
दर्शकले उनलाई सोलो हिरोका रूपमा पनि स्वीकार्न सक्ने संकेत देखिएको छ, जसले आगामी दिनमा उनको अभिनय करियरलाई थप नयाँ उचाइमा पुर्याउने सम्भावना बढाएको छ। समग्रमा, निरन्तर मेहनत र फरक पहिचानका कारण प्रकाश सपूतले नेपाली फिल्म क्षेत्रमा आफ्नो अलग स्थान बनाउँदै लगेका छन्।
अब उनले रोज्ने आगामी प्रोजेक्टहरूले उनको अभिनय यात्रालाई कति माथि लैजान्छ, त्यो भने हेर्न बाँकी छ।












