नेपाली आदिवासी जनजातिले न्यूयोर्कमा देखाए आफ्नै संस्कृति
वि.सं.२०८२ असार १५ आइतवार १७:३७
shares

न्यूयोर्क ।
नेपालका विभिन्न आदिवासी जनजातिहरूले अमेरिकाको न्यूयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन् । न्यूयोर्कको उडसाईडमा नेपाल आदिवासी जनजाति महासङ्घ ९फिप्ना० अमेरिकाले शुक्रबार आयोजना गरेको वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन् ।
डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र ढोलक बजाउँदै नाचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो । त्यस्तै कुमारी नाच, शेर्पा नाच सँगै मगर संस्कृति झल्किने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागीहरू आआफ्नो मौलिक भेसभुसामा उपस्थित भएका थिए ।
औपचारिक कार्यक्रम भन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाइएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागीहरूले निकै रुचीका साथ अवलोकन गरेका थिए ।
सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासङ्घ न्यूयोर्कको सबैभन्दा ठुलो नेपाली संस्थाको रूपमा रहेको छ । जसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छाता मुनी राखेको छ । ग्लोबल जनजाति महासङ्घको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासङ्घ बनेको हो । महासङ्घले नेपालको कला, संस्कृति, भेसभुसा, परम्परा र भाषा संरक्षण, सम्बद्र्धन एवं पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग गरिरहेको छ ।
महासङ्घले गत वर्षदेखि वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ गर्न सुरु गरेको हो । कार्यक्रममा फिप्नामा आबद्ध सबै संस्थाहरूले छुट्टै पहिचानसहितको प्रस्तुति दिएका थिए । फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दीपक चौधरीले गर्नु भएको थियो ।
कार्यक्रममा न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । फिप्नालाई न्युयोर्क महानगर डिस्टीक ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्नीसन हस्तान्तरण गरेका थिए ।
फिप्नाका अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने भन्दै दोश्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने दाबी गरे ।
उनले भाषा, संस्कृतिको पुस्तान्तरण अहिलेको चुनौती भएकाले त्यसका लागि फिप्ना यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए। त्यस्तै महासचिव दीपक चौधरीले सम्पूर्ण संघसंस्थाहरुलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधै तयार रहेको बताए । उनले कार्यक्रमलाई सभ्य र भव्य बनाउन साथ दिने स्थानीय सङ्घसंस्था एवं फिप्नाका सदस्य संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।
फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले जुलाई ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गरे ।












