आमिर खान अभिनीत ‘सितारे जमीन पर’काे कमाइ १ सय करोड पार

1.63K
shares

काठमाडौं ।

आमिर खान अभिनीत फिल्म ‘सितारे जमीन पर’ले बक्स अफिसमा १ सय करोडको आँकडा पार गरेको छ। फिल्मले प्रदर्शनको ९ दिनमा शनिबारसम्म भारतमा १ सय ८ करोड भारूको व्यापार गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो साता ८९ करोड कमाएको फिल्मले दोस्रो शुक्रबार ६ करोड ६५ लाख र शनिबार १२ करोड ७५ लाख कमाएको छ।

शुक्रबार काजोलको ‘माँ’, विष्णु मन्चुको ‘कन्नप्पा’ जस्ता नयाँ फिल्म रिलिजको बाबजुद ‘सितारे जमीन पर’ले दोस्रो सातामा पनि राम्रो कमाइ गरेको छ।

यो फिल्मले विश्वव्यापी रूपमा लगभग १ सय ६५ करोड भारू कमाएको छ। यससँगै यो वर्षको पाँचौं सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ।

प्रसन्न आरएस निर्देशित यो फिल्ममा आमिर एक बास्केटबल प्रशिक्षकको भूमिकामा छन्। जसले मदिरा सेवन गरी ड्राइभ गरेको मुद्दामा सजायस्वरूप विशेष रूपमा अपांगता भएका बालबालिकाहरूको टोलीलाई तालिम दिन्छन्।

आमिर खान प्रोडक्सनको यो फिल्ममा उनीसँगै जेनेलिया देशमुख मुख्य भूमिकामा छन्। यो फिल्म नेपालमा गत बिहीबारदेखि प्रदर्शन भइरहेको छ।