नेपालको पहिलो अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन काठमाडौंमा हुँदै

2.37K
shares

काठमाडौं।

सूचना प्रविधिको तीव्र विकासले विश्वभर ल्याएको क्रान्ति र यसको सम्भावित फाइदाबारे गहन छलफल गर्न नेपालकै पहिलो अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन काठमाडौँमा आयोजना हुने भएको छ । “Connecting Nepali Youth Globally” नारासहित हुने यो ऐतिहासिक सम्मेलन राष्ट्रिय युवा संघ नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो, जसमा प्रत्यक्ष उपस्थितिका साथै विश्वभरबाट भर्चुअल सहभागिता हुनेछ।

सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ। यस आयोजनामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा सूचना प्रविधि अभियन्ता इन्जिनियर बिनय शाहले विशेष भूमिका निर्वाह गरेका छन्। उपाध्यक्ष शाहका अनुसार, यो सम्मेलनले नेपाली युवालाई विश्व बजारमा आफ्नो क्षमता प्रदर्शन गर्न, रोजगारीका नयाँ अवसर पत्ता लगाउन र उद्यमशीलताको दायरा विस्तार गर्न अभूतपूर्व अवसर प्रदान गर्नेछ।

राष्ट्रिय युवा संघ नेपाल देशभरका युवाहरूको सामाजिक, आर्थिक, शैक्षिक र नेतृत्व विकासमा सक्रिय संगठन हो। कृषिदेखि उद्यमशीलता, सीप विकासदेखि खेलकुद, र सामाजिक सेवा अभियानदेखि प्रविधि प्रवर्द्धनसम्मका क्षेत्रमा संघ सक्रिय छ। शाहका अनुसार, आईटी क्षेत्रमा युवाको सीप र नवप्रवर्तन क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यो सम्मेलन संघको दीर्घकालीन दृष्टिकोणको हिस्सा हो।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI) डिजिटल उद्यम, साइबर सुरक्षा, र दूरवर्ती कार्यका सम्भावनाबारे अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधि उद्यमीहरूले आफ्ना अनुभव र विचार साझा गर्नेछन्। यसले राष्ट्रिय युवा संघ नेपालका सदस्य युवालाई विश्वव्यापी सञ्जालमा पहुँच दिलाउने अपेक्षा गरिएको छ। आयोजकको विश्वास छ कि यो सम्मेलनले नेपालको आईटी क्षेत्रको भविष्यलाई नयाँ उचाइमा पुर्याउनेछ।