सुटकेसभित्र मृत फेला परेकी युवती को थिइन् ?

1.89K
shares

रौतहट ।

रौतहट जिल्लाको गौर नगरपालिका-९ गौर सिर्सिया सडक खण्डस्थित मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शव फेला परेको छ । हत्या गरेर सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शव फेला परेको हो।

गौर नगरपालिका-९ मा पर्ने गौर-सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा सुटकेस देखेपछि त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त महिलाको शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।

गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिव ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरीले जनाएको छ। घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको प्रहरीको अनुमान छ।

रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन्। रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ। श्रीमानसँगको उनको सम्बन्धको कस्तो थियो हालसम्म केही खुलेको छैन।

बेवारिश अवस्थामा भेटिएको महिलाको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जानकारी दिए ।