अनेसास विश्व च्याप्टर सम्मेलनः ११बुँदे घोषणापत्र जारी गर्दै भव्य समापन

1.05K
shares

काठमाडौं।

बेल्जियमको डाइमन्ड सहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौँ च्याप्टर सम्मेलन सम्पन्न भएको छ । बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको विशेष आतिथ्यतामा उद्घाटन भएको उक्त सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जुन २५ मा सकियो । सम्मेलन ११ बुँदे घोषणा जारी गर्दै समापन गरिएको हो ।

नेपाली राष्ट्रिय गीतबाट अघि बढेको समुद्घाटन सत्र अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको थियो । अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माई र बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले सञ्चालन गरेको उक्त सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बीओटी)का सभापति पदम विश्वकर्माको विशिष्ट उपस्थिति थियो । उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, विशिष्ट अभियन्ताहरू प्राध्यापक डा. हेमराज शर्मा, लोक दाहाल लगायतले सम्मेलनको सफलताको शुभकामना दिएक थिए ।

कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोबर्धन पूजा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्षद्वय डिल्लीराम अम्माई र सुदिपभद्र खनाल लगायत संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अनेसास केन्द्रको तर्फबाट वरिष्ठ साहित्यकार तथा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले शुभकामना मन्तव्य दिएका थिए भने अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले स्वागत गरे ।

सम्मेलनको पहिलो दिन अनेसास युरोपका सह(संयोजक पंचम अधिकारीले अनलाइन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरे, जसमा गोबर्धन पूजा प्रथम र सुरेन उप्रेती दोश्रो भए । त्यसपछि विभिन्न कविहरूले कविता बाचन गरे भने गायकहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

दोश्रो दिनको कार्यक्रममा अनेसास क्यानडाका संस्थापक अध्यक्ष सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’ घोषणा गरियो । सम्मेलनले अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राईलाई पनि विशेष सम्मान गरेको थियो । कार्यक्रमको तेश्रो चरणमा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’, उपाध्यक्ष डिल्ली अम्माईको ‘निरपेक्ष अस्तित्वको खोज’ लगायत दर्जनजति साहित्यकारहरूका पुस्तक विमोचन गरियो ।

कार्यक्रमको चौथो चरणमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, फ्रान्स, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्यान्डलगायत शाखा अध्यक्ष तथा प्रतिनिधिहरूले आ(आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

अन्त्यमा, ‘भारतमा नेपाली साहित्य, आधुनिक वैश्विक लेखकीय धार तथा लिला लेखन’ विषयमा प्राज्ञ डा. प्राध्यापकद्वय कविता लामा, प्रध्यापक पुष्पा शर्मा र साहित्यकार नारायण अधिकारीले बहस गरेका थिए, जसको सहजीकरण प्राध्यापक उषा शर्माले गरेकी थिइन् ।