उत्तराखण्डमा पहिरो : ९ जना मजदुर बेपत्ता, चार धाम यात्रा रोकियो

1.12K
shares

उत्तराखण्ड ।

भारतका अधिकांश भागमा मनसुनी वर्षा जारी छ । उत्तराखण्डमा शनिबारदेखि भारी वर्षा भइरहेको छ। उत्तराखण्डको उत्तरकाशीस्थित सिलाई बण्ड नजिकै रहेको श्रमिक शिविरमा पहिरो जाँदा ९ जना मजदुर बेपत्ता भएका छन्।

घटनापछि त्यहाँ चार धाम यात्रा आगामी २४ घण्टाका लागि रोकिएको छ। यात्रुहरूलाई हरिद्वार, ऋषिकेश, श्रीनगर, रुद्रप्रयाग, सोनप्रयाग र विकास नगरमा रोक्न आदेश दिइएको छ।

अधिकारीहरूका अनुसार पहिरो यमुनोत्री राष्ट्रिय राजमार्ग नजिकै सिलाई बण्ड क्षेत्रमा भएको थियो। उक्त समय शिविरमा १९ जना श्रमिक थिए, जसमध्ये १० जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ भने ९ जनाको खोजी कार्य जारी रहेको जनाइएको छ।

राज्य विपद् व्यवस्थापन प्राधिकरणले आइतबार बिहान करिब २ः१२ बजे भारी वर्षाको सूचना प्राप्त गरेको र त्यसपछि जिल्ला आपत्कालीन अपरेसन केन्द्रबाट संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिएको छ।

बेपत्ता मजदुरहरूमा दुजेलाल (५५), केवल थापा (४३), रोशन चौधरी (४०), विमला रानी (३६), कल्लुराम चौधरी (५५), बबी (३८), छोटु (२२), प्रियांश (२०) र मनिष धामी (४०) रहेका छन् ।

प्रारम्भिक जानकारीअनुसार उनीहरू सो क्षेत्रमा निर्माणाधीन होटलका लागि कार्यरत श्रमिक थिए। हाल उद्धार कार्य तीव्र गतिमा जारी छ। सो क्षेत्रमा बागेश्वरमा सरयु नदीले खतराको सङ्केत पार गरेको छ। अलकनन्दा र सरस्वती नदी पनि खतराको चिन्हभन्दा माथि बगिरहेका छन्।

भारतको मौसम विभागका अनुसार यसपटक मनसुन ९ दिन अगाडि नै देशभर फैलिएको छ। आज देशभर वर्षाको सतर्कता जारी गरिएको छ।