काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त छ : मन्त्री दाहाल

1.76K
shares

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताएका छन् । आज ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरू समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, संस्कृति र प्रशासनिक गतिविधिको केन्द्र भएको बताए । सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लान यता यातायातको अवस्था निकै बिग्रिएको उनले बताए ।

बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदुषण बढेको उनको भनाइ छ । यसले दैनिक यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको उनले जिकिर गरे । नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औँ आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको उनले बताए ।

काठमाडौं उपत्यका सहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदूषण जस्ता महत्त्वपूर्ण समस्याहरूलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको मन्त्री दाहालले बताए । मन्त्री दाहालले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने जिकिर गरे ।