दक्षिण कोरियाकी पूर्व प्रथम महिला भ्रष्टाचार आरोपमा गिरफ्तार
वि.सं.२०८२ साउन २८ बुधवार ११:०२
shares

काठमाडौं ।
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन ही मंगलबार राति पक्राउ परेकी छन् । उनलाई अदालतले पक्राउ वारेन्ट जारी भएपछि पक्राउ गरिएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार आफूमाथि लागेको भ्रष्टाचारका आरोपलाई उनले अस्वीकार गरेकी छन् । यो घटनासँगै किम भ्रष्टाचार आरोपमा पक्राउ पर्ने पहिलो पूर्व प्रथम महिला बनेकी हुन् । उनका पति तथा पूर्व राष्ट्रपति युन सुक योल पनि अप्रिलमा मार्शल ल लागू गर्ने असफल प्रयासको मुद्दामा पदच्युत भई जेलमा रहेका छन्। किममाथि स्टक धाँधली, घूसखोरी र अवैध प्रभाव प्रयोगजस्ता मुद्दा छन् ।
उनीमाथि २०२२ मा नाटो शिखर सम्मेलनमा उपस्थित हुँदा ६० लाख वोन (करिब ४३ हजार अमेरिकी डलर) मूल्यको भान क्लिफको विलासी पेन्डेन्ट लगाएको र उक्त सम्पत्ति कानूनी रूपमा सार्वजनिक नगरेको आरोप छ। त्यस्तै, उनले धार्मिक समूहबाट व्यापारिक लाभको सर्तमा २० लाख वोन बराबरका दुई च्यानल ब्याग र हीराको हार घूसका रूपमा लिएको आरोप पनि छ।
अभियोजन पक्षका अनुसार प्रमाण नष्ट गर्ने सम्भावना भएकाले उनको गिरफ्तारी आवश्यक थियो, जसलाई अदालतले स्वीकार गरेको हो। किमले भने उक्त पेन्डेन्ट २० वर्षअघि हङकङबाट खरिद गरिएको नक्कली भएको दाबी गरेकी छन्, तर अभियोजन पक्षले यो मौलिक भएको र एक निर्माण कम्पनीले उनीलाई लगाउन दिएको बताएको छ। उनका वकिलहरूले यसअघि सबै आरोप अस्वीकार गर्दै समाचार निराधार भएको बताएका थिए।
पूर्व राष्ट्रपति युनमाथि विद्रोहसहितका मुद्दा छन्, जसमा दोषी ठहरिए आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ। उनले आरोप अस्वीकार गर्दै अदालतमा उपस्थित हुन वा अभियोजनको प्रश्नोत्तरमा सहभागी हुन अस्वीकार गरेका छन्। एजेन्सी












