सतर्कता केन्द्रको अनुगमनमा ६ हजार भन्दा बढी कर्मचारी समयमै कार्यालय नपुगेको खुलासा

कार्यालय समय नमान्ने कर्मचारीमाथि कारबाही सिफारिस, अनुगमनमा ६ हजारभन्दा बढी पक्राउ परे

1.03K
shares

काठमाडौँ । सरकारी कार्यालयहरूमा कर्मचारीको अनुशासन र कार्यसम्पादनबारे प्रश्न उठिरहेका बेला राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमनले ठूलो संख्यामा कर्मचारीले कार्यालय समय र पोशाकसम्बन्धी नियम उल्लङ्घन गरेको तथ्य सार्वजनिक गरेको छ।

केन्द्रले पछिल्लो समय सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई तीव्र बनाएको छ। केन्द्रका अनुसार दैनिक पाँच वटा टोलीमार्फत १० कार्यालयमा अनुगमन भइरहेको छ। कार्यालय समयमा कर्मचारीको उपस्थितिदेखि तोकिएको पोशाक र फाइल व्यवस्थापनसम्मका विषयमा निगरानी गरिँदै आएको छ।

सूचना अधिकारी सरिता खतिवडाका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालयमा अनुगमन गर्दा छ हजार ७१० कर्मचारी कार्यालय समयमा अनुपस्थित वा समयपालन नगरेको भेटिएका छन्। यस्तै, एक हजार १६२ कर्मचारीले तोकिएको पोशाकसमेत नलगाएको पाइएको छ।

केन्द्रले केही कार्यालयमा पटक–पटक अनुगमन गरेको र नियम उल्लङ्घन गर्ने कर्मचारीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ। निजामती सेवा ऐन, २०४९ अनुसार पहिलो चरणमा चेतावनी पत्र दिने र अभिलेख राख्ने व्यवस्था छ भने दुई पटकसम्म चेतावनी पाएपछि विभागीय कारबाही गर्न सकिने प्रावधान रहेको छ।

केन्द्रले काठमाडौँ उपत्यकासहित सातै प्रदेशका जनसम्पर्क बढी हुने जिल्लाका सरकारी कार्यालयहरूमा पनि अनुगमन जारी राखेको जनाएको छ। अनुगमनबाट सार्वजनिक सेवामा जवाफदेहिता र अनुशासन कायम गर्ने उद्देश्य राखिएको केन्द्रको भनाइ छ।