कांग्रेसमा ३ लाख ७५ हजार क्रियाशील सदस्यको मात्रै डिजिटल अद्यावधिक
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:०५
shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता डिजिटल रूपमा अद्यावधिक गरेका छन्। पार्टी महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नवीकरण गरिसकेका सदस्यलाई समेत अनिवार्य रूपमा डिजिटल अद्यावधिक गर्न समय दिएको छ।
समितिका सदस्य तथा पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली का अनुसार समाचार तयार पार्दासम्म ३ लाख ७५ हजार सदस्यले अद्यावधिक गरिसकेका छन् भने साँझसम्म यो संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ।
१४औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य थिए। हालको संख्या त्यसको तुलनामा निकै कम देखिएको छ। रसाइलीका अनुसार अघिल्लो महाधिवेशनमा सरकारी कर्मचारी, शिक्षकलगायत करिब २ लाख सदस्य थिए। सरकारले सरकारी कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था गरेपछि ती सदस्य स्वतः बाहिरिएका छन्। तर त्यसबाहेक पनि उल्लेख्य संख्यामा सदस्यले आफ्नो सदस्यता अद्यावधिक नगरेको देखिएको छ।
गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र विवाद जारी छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ समिति गठन भएको थियो। सोही समितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका सदस्यलाई पनि डिजिटल अद्यावधिक अनिवार्य गरेको छ।
तर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै अद्यावधिक नगर्ने अडान लिइरहेको बताइएको छ।
विशेष महाधिवेशनअघि नै ४ लाख ५० हजार सदस्यले क्रियाशील सदस्यता नवीकरण गरेका थिए। रसाइलीका अनुसार त्यही संख्यामध्ये हालसम्म ३ लाख ७५ हजार सदस्यले मात्रै डिजिटल अद्यावधिक प्रक्रिया पूरा गरेका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद र नयाँ व्यवस्थाप्रति देखिएको असहमतिका कारण सदस्य अद्यावधिकको संख्या अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ।













