राजेन्द्र लिङ्देनमाथि आरोप १८३ राप्रपाका नेताको सामूहिक राजीनामा
राजेन्द्र लिङ्देनमाथि आरोप, राप्रपाका १८३ नेताको सामूहिक राजीनामा
वि.सं.२०८३ जेठ २१ बिहीवार १५:२९
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा सतहमा आएको छ। पार्टीका महामन्त्री धवलशम्शेर राणा को नेतृत्वमा १८३ जना नेताले बिहीबार सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा पार्टीका शीर्ष तहका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायण प्रसाद कोइराला लगायत रहेका छन्। उनीहरूले पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राप्रपासँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।
सामूहिक राजीनामा दिएका नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूको आरोप अनुसार अध्यक्ष लिङ्देनको ‘हिनभाव, नेतृत्वगत कमजोरी र आत्मकेन्द्रित कार्यशैली’ का कारण राप्रपा आफ्नो मूल राजनीतिक सिद्धान्त, मूल्य र उद्देश्यबाट विचलित भएको छ।
राजीनामापत्रमा पार्टीभित्र विचार, संगठन र नेतृत्वबीचको सन्तुलन कमजोर बन्दै गएको तथा निर्णय प्रक्रियामा सीमित व्यक्तिको प्रभाव बढेको उल्लेख गरिएको छ। नेतृत्वले कार्यकर्ताको भावना र सुझावलाई बेवास्ता गरेको तथा पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न नसकेको आरोप पनि उनीहरूले लगाएका छन्।
राजसंस्था, हिन्दुराष्ट्र र सुशासनको एजेन्डा बोकेको दाबी गर्दै आएको राप्रपामा पछिल्लो समय नेतृत्वको कार्यशैलीलाई लिएर विभिन्न तहमा असन्तुष्टि देखिँदै आएको थियो। तर एकैपटक १८३ नेताले पार्टी परित्याग गर्नु राप्रपाका लागि ठूलो राजनीतिक झट्काका रूपमा हेरिएको छ।
राजीनामा दिएका नेताहरूले अबको राजनीतिक यात्राबारे भने तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन्। यद्यपि उनीहरूले राप्रपाले आफ्नो वैचारिक मार्ग छोडेको निष्कर्षसहित पार्टी त्यागेको बताएका छन्।
यस घटनाले राप्रपाभित्रको आन्तरिक संकटलाई थप उजागर गरेको छ। आगामी दिनमा यसले पार्टीको संगठनात्मक संरचना, राजनीतिक प्रभाव र आगामी निर्वाचन रणनीतिमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।













