विद्या भण्डारीलाई पुनः एमालेमा सक्रिय बनाउने तयारी
भण्डारीको सदस्यता खुलाउने एमाले कदमले राजनीति तरंगित
National Vision 4K
वि.सं.२०८३ जेठ ४ सोमवार १८:१०
1.34K shares
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारी को पार्टी सदस्यता पुनः खुला गर्ने संकेतसहित राजनीतिक सन्देश दिएको छ।
आइतबार आयोजित ३३औँ मदन–आश्रित स्मृति दिवस कार्यक्रममा भण्डारीलाई “प्रमुख अतिथि” बनाइएपछि एमालेभित्र उनको पुनरागमनबारे नयाँ बहस सुरु भएको हो।
बल्खुस्थित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले एमालेले जनमुखी कार्यशैली, अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्ने बताइन्। उनले कार्यकर्तालाई जनतामाझ सक्रिय हुन आग्रहसमेत गरिन्।
राजनीतिक विश्लेषकहरूले एमाले नेतृत्व र भण्डारीबीच पछिल्लो समय सकारात्मक संवाद बढेको संकेत देखिएको बताएका छन्। विशेषगरी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको सम्बन्ध सुधारतर्फ गएको अनुमान गरिएको छ।
यसअघि एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। तर पछिल्लो कार्यक्रममा उनलाई औपचारिक रूपमा मञ्चमा प्रमुख स्थान दिइनु, महासचिव शंकर पोखरेलले “कमरेड” भनेर सम्बोधन गर्नु तथा नेताहरूले सकारात्मक संकेत दिनुलाई सदस्यता खुलाउने तयारीको रूपमा हेरिएको छ।
एमालेले औपचारिक रूपमा सदस्यता खुला गर्ने निर्णय भने अझै सार्वजनिक गरेको छैन। तर पछिल्ला गतिविधिले पार्टीभित्र भण्डारीको सक्रिय भूमिकाको ढोका खुल्न सक्ने संकेत दिएको राजनीतिक वृत्तमा चर्चा छ।